जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु

शेयेर गर्नुहोस

गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । जीपमा सवार २ जना गम्भीर घाइते भएका छन् ।

जिल्लाको इस्मा गाउँपालिका वडा नम्बर–४ को हुल भन्ने स्थानमा लु १ ज ११६६ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलका ६५ वर्षीय डम्बर हितान, ३३ वर्षीय शिव दर्लामी, ३० वर्षीय बसन्त दर्लामी, ३३ वर्षीय धन बहादुर अछामी र मालिका गाउँपालिका–५ का ८० वर्षीया सुन्दरी थापाको ज्यान गएको इस्मा प्रहरी चौकीका इन्चार्ज मोहनलाल अधिकारीले जानकारी दिए ।

दुर्घटनामा इस्मा गाउँपालिका–४ हुलकै १९ वर्षीय फर्सुराम थापा, २८ वर्षीया सरस्वती दर्लामी र सहचालक २५ वर्षीय कमल हितान घाइते भएका छन् । चालक बुद्ध बस्नेत सकुशल रहेका प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि गुल्मी अस्पताल पठाइएको छ ।

शुक्रबार बिहान इस्माबाट तम्घास आउँदै गरेको जीप दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना थिए ।

दुर्घटनामा परेको जीप सडकबाट करिब ४ सय मिटर तल खसेको छ । चालक र सहचालकलाई इस्मा प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटना स्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय जनप्रतिनिधिहरु उद्धारमा जुटेको इस्मा गाउँपालिका उपाध्यक्ष बिमला खत्रीले बताइन् ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed