शेयेर गर्नुहोस
टीकापुर । टीकापुर घट्नाका आरोपित रेशम चौधरीलाई जन्मकैदको सजाय उच्च अदालत दीपायलले सदर गरेको छ ।
प्रतिनिधि सभाको निर्बाचनमा कैलाली क्षेत्र नम्बर १ बाट निर्बाचित रेशम चौधरी सहित ११ जनालाई टीकापुर घट्नामा दोषी ठहर गर्दै कैलाली जिल्ला अदालतले २०७५ साल चैतमा गरेको फैसलालाई उच्च अदालत दीपायलले सदर गरेको हो ।
दुई वर्षअघि कैलाली जिल्ला अदालतले ११ जनालाई जन्मकैदको सजाय सुनाएको थियो । जसमध्ये उच्च अदालतले बिहिबार सात जनाको फैसला सदर गरेको छ । चार जनालाई भने सफाई दिएको छ ।
उच्च अदालतका न्यायधिश टेक नारायण कुवँर र सीताराम मण्डलको ईजलासले हिजो टीकापुर घट्नाको मुद्दामा फैसला सुनाउदै हाल कारागारमा रहेका प्रतिनिधि सभा सदस्य चौधरी सहित सात जनालाई जन्म कैदको फैसला सदर गरेको हो ।
थरुहटको माग गर्दै निस्किएको जुलुसले २०७२ भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका बरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने सहित आठ जना प्रहरीको हत्या गरेको थियो । सोही क्रममा एक नाबालकको समेत गोली लागेर ज्यान गएको थियो ।
उक्त घट्नामा ५८ जनामाथि मुद्दा चलाईएको थियो । जसमध्ये २७ जना पक्राउ परेका थिए । अन्य फरार छन् ।
कैलाली जिल्ला अदालतले पक्राउ परेका मध्ये तीन जनालाई सफाई दिएको थियो । १२ जनालाई तीन वर्षको कैद सजाय सुनाएको थियो ।
टिकापुरका राम नरेश चौधरी,प्रतापपुरका तहोवीर अली जागा र बिश्राम चौधरीले सफाई पाएका थिए ।
तीन वर्ष कैद सजाय भोगेर थारु नेता लक्ष्मण चौधरी, जोशीपुर झवहीका काँग्रेसका नेता रामप्रसाद चौधरी र थारु कल्याणकारी सभाका सभापति लाहुराम चौधरी कारगारबाट मुक्त भएका थिए ।
टीकापुर घट्नामा आरोपित मुनुवाका करन चौधरीलाई भने नाबालक रहेकोले अदालतले सुधार गृहमा राख्न निर्देशन दिएको थियो । (स्रोतः पश्चिम टुडे)