शेयेर गर्नुहोस
महेन्द्रनगर । कञ्चनपुरमा जारी प्रधानमन्त्री कप (पीएम) एकदिवसीय क्रिकेटको सुदूरपश्चिम छनोटको उपाधि अछामले हात पारेको छ। फाइनल खेलमा बैतडीलाई १५ रनले पाखा लगाउदै अछामले उपाधि हात पारेको हो।
अछामले दिएको १६५ रनको लक्ष्य पछाएको बैतडी १४९ रनमा समेटियो। बैतडीका लागि प्रदीप चन्दले ३० तथा वीरेन्द्र नाथले २७ रनको योगदान गरेपनि टोलीलाई भने जिताउन सकेनन्।
अछामका लागि सुरज तिरुवाले ३ विकेट हात पारे। त्यसअघि कभर्डहल मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको अछामले ३८ ओभरमा १६४ रनमा अलआउट भयो। उसका लागि सुरज तिरुवाले सर्वाधिक ६१ रन जोडे। बैतडीका लागि खडक बोहरा र दीपेन्द्र ऐरीले समान ३÷३ विकेट लिएका थिए। अछामका लागि अलराउण्डर प्रदर्शन गरेको सुरज तिरुवा म्यानअफ द फाइनल भएका स्कोरर निरञ्जन बोहराले जानकारी दिए।
गत मंसिर २७ देखि शुरु भएको छनौट प्रतियोगितामा बाजुरा बाहेकका सुदूरपश्चिमका ८ टोलीको सहभागिता रहेको थियो। यो छनोट प्रतियोगिताबाट यही पुस ११ बाट हुने प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटका लागि सुदूरपश्चिमको टोली छनोट हुनेछ।
प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी डडेल्धुराका सन्तोस भट्ट चुनिए। बैतडीका खडक बोहरा उत्कृष्ट बलर भए भने कञ्चनपुरका किरन ठगुन्ना उत्कृष्ट ब्याट्सम्यान बनेका छन्।
फाइनल खेलपछि समापन समारोहको आयोजना गरी खेलाडीलाई पुरस्कार वितरण गरिएको थियो। उक्त समापन समारोहमा नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द प्रमुख अतिथी रहेका थिए।