banner

बालबालिकामाथि अपराध बढ्दै

शेयेर गर्नुहोस

काठमाडौं । यो आर्थिक वर्षको मंसिरसम्म बालबालिकाविरुद्ध भएका १ हजार ७४ घटना प्रहरीमा पुगेको छ । त्यसमा बलात्कार, बालयौन दुव्र्यवहार, अपहरण, अपहरणपछि हत्या, जातीय छुवाछुत, घरेलु हिंसा, अप्राकृतिक मैथुनलगायत छन् । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुँवर बालबालिकाविरुद्ध हुने अपराधमा प्रहरी संवेदनशील रहेको बताउँछन् । ‘प्रहरी जहिल्यै बालबालिकाविरुद्धको अपराधमा संवेदनशील छ’, प्रवक्ता कुँवर भन्छन् ।

उनी भन्छन्, ‘हामीले प्रहरी समुदाय साझेदारी कार्यक्रमबाट सर्वसाधरणलाई सुचित गरेका छौं । पहिला अभिभावक पनि सचेत हुनुपर्छ ।’ बालबालिकाको क्षेत्रमा थुप्रै सरकारी एवं गैरसरकारी संघसंस्थाले काम गरिरहेका छन् । तर, बेला–बेला भइरहने आपराधिक घटनाले यी संस्थाका प्रयास निस्प्रभावीझैं देखाउँछ । अबोध बालबालिकामाथि हुने क्रूर घटनामा राज्य त्यतिबेला संवेदनशील हुन्छ, जब घटनाले उग्ररूप लिन्छ । सडक तात्छ । सदन तात्छ । तब मात्रै सरकारी निकाय बोल्छन्। अन्तिममा क्षतिपूर्तिको नाममा पीडित पक्षलाई थमथमाउने र पीडकलाई कानुनी दायरामा ल्याउने काम मात्रै भएको विभिन्न घटनाक्रमले देखाउँछ ।

राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारी कानुन बनाएर मात्र पनि नहुने बताउँछिन् । ‘कानुन कार्यान्वयनको पाटो बलियो बनाउनुपर्छ’, अन्सारी भन्छिन्, ‘स्थानीय सरकारको संयन्त्र बलियो बनाउनुपर्‍यो । अहिले स्थानीय संयन्त्र नै बालबालिका क्षेत्रमा संवेदनशील भएको देखिँदैनन् ।’

(साभारः अन्नपूर्ण पोष्ट)

amazed