शेयेर गर्नुहोस
काठमाडौँ । १० वर्षअघि पाँचथरमा प्रेमिकालाई गोली हानी हत्या गरेर फरार रहेका आरोपितलाई प्रहरीले काठमाडौंको मूलपानीबाट पक्राउ गरेको छ ।
पाँचथरको एउटा होटेलमा प्रेमिकालाई लगी अर्को दिन गोली हानी हत्या गरी फरार रहेका कुमुक हाङ भनिने पवन लिम्बुलाई प्रहरीले बिहीबार मूलपानीबाट पक्राउ गरेको हो ।
पवनले १० वर्षअघि प्रेमिका सुष्मा तुम्बाहाङ्फेलाई गोली हानी हत्या गरेका थिए । मृतक सुष्मा र आरोपित पवन दुवै ताप्लेजुङका हुन् । उनीहरु पाँचथर सदरमुकाम फिदिमको एउटा गेस्ट हाउसमा बसेका थिए ।
ब्रिटिस सेनामा भर्ना हुने पक्रियाका लागि पवन ताप्लेजुङबाट झापा आएका थिए । उनीसँगै ती किशोरी पनि झापा आएकी थिइन् । ब्रिटिस सेनाको भर्ना प्रक्रियामा सहभागी पवन सुष्मासँगै फिदिम गएका थिए । एक रात त्यहीँ गेस्ट हाउसमा दुवै जना बसेकोमा भोलिपल्ट पवन सुष्मालाई गोली हानी फरार भएका थिए ।
प्रहरीको अनुसन्धानमा उनी विवाह गरेर काठमाडौंमा बस्दै आएको खुलेको छ । ताप्लेजुङ स्थायी घर भएका २७ वर्षीय पवन विवाहपछि मूलपानीमा लुकिछिपी बस्दै आएको खुलेको हो । (साभारः कान्तिपुर)