शेयेर गर्नुहोस
कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय मझगाउ कञ्चनपुरले गत आर्थिक वर्ष २०७७÷०७८ मा ३ करोडभन्दा बढी राजस्व सङ्कलन गरेको छ ।
निकुञ्जले पर्यापर्यटनबाट ८ लाख ६२ हजार ९ सय २४ रुपैयाँ, दण्ड जरिवानाबाट ५२ लाख ३७ हजार ९ सय ३६ रुपैयाँ, खर खडाइबाट १२ लाख ७६ हजार ४ सय ३५ रुपैयाँ ५० पैसा, काठ दाउरा बिक्री बापत २ करोड ६ लाख ७५ हजार २ सय ८४ रुपैयाँ र अन्यमा २० लाख ४६ हजार ६ सय ९१ रुपैयाँ गरी जम्मा ३ करोड ९९ हजार २ सय ७२ रुपैयाँ राजस्व सङ्कलन गरेको सहायक संरक्षण अधिकृत रविन चौधरीले बताउनुभएको छ ।
उहाँले आर्थिक वर्ष २०७६र०७७ मा २ करोड ७५ लाखभन्दा बढी राजस्व सङ्कलन भएको र गत आर्थिक वर्षमा दण्ड जरिवाना र काठ बिक्रीबाट बढी राजस्व सङ्कलन भएका कारण विगतको तुलनामा १ करोडभन्दा बढी राजस्व सङ्कलन भएको बताउनुभयो ।
कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाले विदेशी पर्यटकहरूको आवागमन नभए पनि २ हजार ९ सय ३५ जना आन्तरिक पर्यटकहरूले निकुञ्जको भ्रमण गरेको उहाँले बताउनुभयो ।
उहाँले कोरोना महामारीका कारण देश विदेशबाट मानिसहरू घर फिर्ता भएका र रोजगारीको कुनै आधार नभएपछि निकुञ्जमा काठ दाउरा चोरी तस्करी र वन्यजन्तुको सिकार गर्ने गतिविधि बढेको र निकुञ्जले पनि सुरक्षा व्यवस्थामा कडाइ गरेका कारण दण्ड जरिवानाबापत ठुलो परिणाममा राजस्व सङ्कलन गरिएको बताउनुभयो ।