कैलालीको लालबोझी गाउँ कटानको जोखिममा

शेयेर गर्नुहोस

धनगढी । कैलालीको भजनी नगरपालिका–५ स्थित लालबोझी गाउँ कटानको जोखिममा परेको छ । कान्द्रा नदीले गाउँतर्फ कटान सुरु गरेपछि लालबोझी गाउँ जोखिममा परेको हो ।

केही दिनदेखि भइरहेको अविरल वर्षाका कारण नदीमा आएको बाढीले जमिन कटान गर्न थालेको छ । कान्द्राको कटानले गाउँ नै जोखिममा परेको स्थानीय खोजराम चौधरीले बताउनुभयो ।

‘जमिन कटान गर्दै नदी गाउँ नजिक आइपुगेको छ’, उहाँले भन्नुभयो । २०७५ सालमा तटबन्ध गरिएपछि बस्तीतर्फ केही हद्सम्म कटान रोकिएको थियो । तर, यो वर्षदेखि पुनः कटान सुरु भएको छ । कटानको कारण बुधबारमात्रै लालबोझीका दुई परिवार अन्यत्र विस्थापित भएका छन् ।

आशाराम चौधरी र बाँधुराम चौधरीको परिवार विस्थापित भएका हुन । नदीले घर बगाउने अवस्था आएपछि उनीहरुको घरपरिवारका सदस्यलाई अन्यत्र सारिएको छ । प्रभावित दुवै परिवारको घर उजारेर काठ पनि सुरक्षित स्थानमा सार्ने कार्य भएको जनाइएको छ ।

यसैगरी, कान्द्राले हुलाकी राजमार्ग कटान गरिरहेको छ । कालोपत्रे गर्न बाँकी रहेको क्षेत्रमा नदीले हुलाकी राजमार्ग कटान गरिरहेको हो । अब दुई मिटरमात्रै राजमार्ग बाँकी रहेको चौधरीले बताउनुभयो । ‘हुलाकी राजमार्गले बाँधको रुपमा काम गरेपछि केही राहत महसुस भएको थियो’, चौधरीले भन्नुभयो ।

‘नदीले राजमार्ग नै कटान गर्दा अब पुरै गाउँ जोखिममा परेको छ ।’ हुलाकी राजमार्ग नरहेमा बस्ती र खेतमा सजिलै नदी पस्ने खतरा रहेको उहाँको भनाइ छ । यसैगरी, नदीले लालबोझी गाउँवासी हिड्ने कच्ची सडकलाई पनि कटान गरिसकेको छ । जमिन कटान गर्दै नदी बस्तीतिर आइरहेकाले स्थानीयवासीमा त्रास बढेको छ । सो गाउँमा १७० परिवारको बसोबास रहेको छ ।

नदी कटानका कारण जोखिममा परेको गाउँलाई जोगाउनका लागि स्थानीय सरकारलाई गुहारेको लालबोझी गाउँका भलमन्सा रामकिशन चौधरीले बताउनुभयो । ‘तत्काल कटान नियन्त्रणको पहल गर्नका लागि नगरपालिकामा गएर निवेदन दिएका छौं’, उहाँले भन्नुभयो । ‘हुलाकी राजमार्ग पूरा कटान हुने बित्तिकै हाम्रो गाउँको उठीबास हुन्छ । खेतीपाती पनि सोत्तर हुनेछ ।’ उहाँले कान्द्रा नदीका कारण आफ्नो गाउँवासीले धेरै दुःख भोगिरहेको उल्लेख गर्नुभयो ।

कान्द्रा नदीको कटानकै कारण यसअघि पनि कैयौं परिवार विस्थापित भइसकेका छन् । नदीले २०५५÷५६ बाट लालबोझी गाउँतिर कटान सुरु गरेको स्थानीयवासी बताउँछन् । उनीहरुका अनुसार उत्तरतर्फबाट कान्द्राले कटान सुरु गरेपछि बस्ती दक्षिणतिर सर्दै गएको छ

कान्द्राले गर्दै आएको कटान नियन्त्रणका लागि हुलाकी राजमार्ग आयोजनाले लालबोझीमा तटबन्ध निर्माण गरेको थियो । आर्थिक वर्ष २०७५÷७६ मा तटबन्ध बनेपछि केही हद्सम्म कटान नियन्त्रण भएको थियो ।

यद्यपि, नदीका कारण भविष्यमा जस्तोसुकै अवस्था सृजना हुन सक्ने अवस्थालाई मध्यनजगर गरेर हुलाकी राजमार्ग आयोजनाको कार्यालयले लालबोझी खण्डमा कालोपत्रे भने गरेको छैन । कालोपत्रे नगरिएको क्षेत्रमा कान्द्रा नदीले हुलाकी राजमार्ग कटान गरिरहेको छ । (साभारः गोरखापत्र)

ताजा खबर

माघीको चहलपहलसँगै माघीमय भए थारू बस्ती

क्वारेनटाइन नहुँदा तरकारी ल्याउन विवाहको कार्ड देखाउनुपर्ने

धर्मापुर कटान ग्रामीण सहकारीको १५ औं साधारणसभा सम्पन्न

एसएसपी बढुवाको तयारी, यी ३८ जना प्रतिस्पर्धी

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *