शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा ११ वर्षिया बालीका माथि जबरजस्ती करणी प्रयास गर्ने छुनुकलाल चौधरी पक्राउ परेका छन । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ फकलपुरका छुनुकलाल चौधरी ११ वर्षीया बालिकामाथि हातपात गर्दै बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका हुन् ।
यसअघि बलात्कार प्रयासको घटना साढे तीन लाखमा मिलाएको आरोप लागेका एक प्रहरी सहायक निरीक्षकअसई निलम्बनमा परिसकेका छन्। प्रदेश प्रहरी कार्यालय सुदूरपश्चिमले अस्थायी प्रहरी चौकी बड्याहाका प्रहरी सहायक निरीक्षक दिलबहादुर बोगटीलाई निलम्बन गरिसकेको छ ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा उक्त प्रकरणबारे छानबिन समिति गठन गरिएको थियो । छानबिन समितिमा जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक दानबहादुर रोकाया, प्रहरी हवल्दारद्धय छक्कबहादुर कार्की, चक्रबहादुर खड्का र प्रहरी जवान अर्जुनबहादुर खड्का सदस्य छन् ।
उक्त घटनालाई अस्थायी प्रहरी चौकी बड्याहा र वडा नम्बर ८ का जनप्रतिनिधिले साढे तीन लाखमा मिलाएको भन्दै खबर बाहिरिएको थियो। वडा नम्बर ८ का वडा सदस्य राजेश चौधरीले छुनुकलाललाई साढे तीन लाख दण्ड गराएर मिलापत्र गरिएको स्वीकार गरेका थिए ।