शेयेर गर्नुहोस
सुखड । नेपाल विद्यालय कर्मचारी परिषद् घोडाघोडी नगर समितिले आफ्ना माग सम्बोधन नभए आन्दोलन गर्ने नगरपालिकालाई चेतावनी दिएको छ ।
पटक पटक नगरपालिकामा ज्ञापन पत्र बुझाउँदा, छलफल र अन्तरक्रिया गर्दा समेत आफ्ना माग सम्बोधन नभएको समितिले जनाएको छ । नगर प्रमुखले आफूहरूका १० बुँदे माग सम्बोधन गर्ने पटक पटक आश्वास दिए पनि अहिले सम्म माग सम्बोधन नगरेको नेपाल विद्यालय कर्मचारी परिषद् घोडाघोडी नगर समितिका अध्यक्ष सुरेन्द्र धामीले बताए ।
असोज ५ गते सम्म घोडाघोडी नगरपालिकाले आफूहरूका माग सम्बोधन नगरे चरण बन्द आन्दोलन गर्ने उनले बताए । नेपाल सरकारको बजेट वक्तव्य मार्फत घोषण भए बमोजिम विद्यालय कर्मचारीको न्यूनतम तलब १५ हजार उपलब्ध गराउनु पर्ने, महँगी भत्ता स्थानीय सरकारले उपलब्ध गराउनु पर्ने, उमेरको हदबन्दी लगायतका तत्काल सेवाबाट बर्खास्त गर्ने नपाउने र यदि बर्खास्त गरेमा निजामती सरह औषधी उपचार, पेन्सनको व्यवस्था हुने पर्ने उनीहरूले माग गरेका छन् ।
साथै उनीहरूले सामुदायिक विद्यालय कर्मचारीका नानी बाबुहरुलाई उच्च शिक्षाको निःशुल्क व्यवस्था गर्नु पर्ने, विद्यालय कर्मचारी क्षेत्रका समस्या निराकरणका लागी सहजीकरण गर्न संवाद समन्वय समिति निर्माण गर्नु पर्ने इत्यादि माग राखेका छन् ।
अन्य गाउँ तथा नगरपालिकामा नेपाल विद्यालय कर्मचारी परिषद्ले उठाएका मागहरू सम्बोधन भए पनि घोडाघोडी नगरपालिकामा आफूहरूका मागहरूको व्यवस्था नभएको समितिले जनाएको छ ।
विद्यालय कर्मचारीहरूलाई अलग्गै छुट्टाएर नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिई स्थानीय सरकारले विभेद गरेको उनीहरूको गुनासो रहेको छ । उनीहरूले विद्यालय कर्मचारीलाई निजामती वा शिक्षकसरह पदीय हैसियत तथा सेवा सुविधा निर्धारण गर्न माग राखेका छन् । विद्यालयमा काम गर्ने शिक्षक र कर्मचारीबिच पारिश्रमिकमा ठुलो विभेद गरिएको दुखेसो पोख्दै १२ घण्टासम्म काम गर्दै आएका कर्मचारीलाई श्रम शोषणबाट मुक्त गरी आफूहरूलाई न्याय दिनु पर्ने उनीहरूले बताएका छन् ।