शेयेर गर्नुहोस
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा घरेलु टोली ओमानले अमेरिकालाई ७२ रनले पराजित गरेको छ ।
ओमानले दिएको २७५ रनको लक्ष्य पछ्याएको अमेरिकाले ३९।५ ओभरमा सबै विकेट गुमाएर २०२ रन मात्र बनाउन सक्यो । अमेरिकाका लागि मोनाक पटेलले सर्वाधिक ५६ रन बनाउदा गजानन्द सिंहले ४८ रन जोडे । बाँकी खेलाडीले राम्रो प्रदर्शन गर्न नसक्दा अमेरिका १० ओभर अगावै अलआउट भयो ।
ओमानका आयान खानले ४ र खाँवर खलीले ३ विकेट लिए ।
त्यसअघि मस्कटस्थित अल अमरेत क्रिकेट मैदान टस हारेर पहिले ब्याटिङ गरेको ओमानले पूरै ५० ओभर खेल्दै ७ विकेट गुमाएर २७४ रन बनाएको थियो ।
ओमानका लागि कप्तान जिसन मक्सुदले सर्वाधिक ५३ रन बनाए । यस्तै जतिन्दर सिंहले ४२, आयान खानले ४१ तथा प्रुथ्वीकुमार माची र सन्दीप गौडले समान २५ रन बनाए । नसिम खुशीले अविजित ३५ रन जोड्दा कलिमुल्लाह १६ रनमा अविजित रहे ।
अमेरिकाका नोस्थुस केन्जिगेले तीन विकेट लिए ।
सिरिजमा ओमानले ४ मध्ये तीन खेल जित्दा अमेरिकाले भने तीन खेलमा हार बेहोर्यो । ओमानले तीन खेल जित्दै ६ अंक जोड्यो भने नेपालले २ खेल जितेर चार अंक जोड्यो । अमेरिकाले १ जितबाट २ अंक मात्र जोड्न सक्यो ।
लिग २ को अंकतालिकामा ओमान १४ खेलबाट २२ अंकसहित शीर्ष स्थानमा छ । १६ खेल खेलेको अमेरिका १४ अंकसहित दोस्रो स्थानमा छ।
८ खेलबाट ९ अंक जोडेको स्कटल्याण्ड तेस्रो स्थानमा छ भने ८ खेलबाट ८ अंक नै जोडेको नेपाल चौथो स्थानमा छ । ओमानमा २ खेल जितेपछि नेपाल छैटौं स्थानबाट दुई स्थान फड्को मार्दै चौथो स्थानमा उक्लेको हो ।