शेयेर गर्नुहोस
काठमाडौं । २०७८ को माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरू हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ ।
विगत दुई वर्ष कोरोना महामारीका कारण बोर्ड परीक्षा हुन सकेको थिएन । कोरोना महामारीपछि आन्तरिक मूल्याङ्कनका आधारमा एसईईको नतिजा सार्वजनिक गर्दै आएको राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष परीक्षा केन्द्र तोकेर भौतिक उपस्थितिमै परीक्षा सञ्चालन गर्न लागेको हो ।
यस वर्ष कुल ५ लाख १४ हजार ९ सय ६७ परीक्षार्थी एसईई परीक्षामा सहभागी हुँदैछन् । जसमध्ये नियमिततर्फ ४ लाख ८८ हजार ७४२ र ग्रेड वृद्धितर्फ ११ हजार ४५४ परीक्षार्थी एसईईमा सहभागी हुने बोर्डले जनाएको छ ।
प्राविधिकतर्फ मुलुकभरका २९९ विद्यालयका १४ हजार ५६४ विद्यार्थी एसईईमा सहभागी हुँदैछन् । एसईईमा सबैभन्दा बढी काठमाडौंबाट ३६ हजार र सबैभन्दा कम मनाङबाट २९ जना विद्यार्थी सहभागी हुने बोर्डले जनाएको छ।
राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा सञ्चालनका लागि २ हजार ७ परीक्षा केन्द्र र एक उपकेन्द्र तोकेको छ । सरकारले यस वर्षदेखि एसइई परीक्षा सञ्चालनको जिम्मा प्रदेश सरकारलाई दिएको छ । बोर्डको समन्वयमा प्रदेशले परीक्षा सञ्चालन गर्नेछ ।
बोर्डका अनुसार परीक्षा सञ्चालनको जिम्मा प्रदेशले पाए पनि प्रश्नपत्र निर्माण र नतिजा प्रकाशन भने बोर्डबाटै हुनेछ । प्रदेशले उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, उत्तरपुस्तिका संपरीक्षण गर्नेछ ।