टीकापुरका तीन वडामा माओवादी केन्द्रको सानदार जित

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय
टीकापुर । स्थानीय तहको निर्वाचन २०७९ को मतदान सम्पन्न भएर अहिले देशभर मतगणना जारी छ । यो संगै अहिले विभिन्न स्थानीय तहका नतिजासमेत आइरहेको छ ।

टीकापुर नगरपालिकामा पनि निकै रोचक प्रतिस्पर्धा देखिएको छ अझ मेयरमा भन्दा पनि उपमेयरमा प्रतिस्पर्धा बढी छ । गठबन्धन पक्षबाट उपमेयरका उम्मेदवार रहेका माओवादी केन्द्रका नेता खडक शाह यतिबेला प्रतिपक्षीलाई कडा टक्कर दिइरहेका छन् । यो बीचमा टीकापुर नगरपालिकामा माओवादी केन्द्रले तीनवटा वडामा जित हात पारिसकेको छ । अन्य ठुला दलभन्दा पनि भर्खरै स्थापित नागरिक उन्मुक्ति पार्टीले मतगणनाको सुरुदेखि नै नगरमा अग्रता लिदै मतान्तर पनि बढाउदै लगेको छ ।

त्यस्तै वडामा पनि मुख्य प्रतिस्पर्धी नागरिक उन्मुक्ति पार्टी नै देखिएको भएपनि माओवादी केन्द्रबाट वडाका उम्मेदवारका लागि भने गठबन्धन सारथी नेपाली काङ्ग्रेस प्रतिस्पर्धी बनेको छ ।

माओवादी केन्द्रले गत स्थानीय तहको निर्वाचन २०७४ मा जितेका वडामा आफ्नो विरासत जोगाएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट नगरपालिकाको मेयरका उम्मेदवार रामलाल डगौराकै वडामा माओवादी केन्द्रका उम्मेदवारले जित हात पारेका छन् ।


वडा नं. ७ का निवर्तमान वडाध्यक्षसमेत रहेका रामलाल डगौरा थारु अहिले नागरिक उन्मुक्ति पार्टीबाट मेयरका उम्मेदवार हुन् ।


उनी पहिले माओवादी केन्द्रबाटै वडाध्यक्षमा निर्वाचित भएका थिए । यस वडामा माओवादी केन्द्रबाट वडाध्यक्षका उम्मेदवार यज्ञ न्यौपानेले ८ सय ९८ मत पाएर विजयी भएका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टीका पहलवान चौधरीले ८ सय २७ मत पाएर पराजित बनेका छन् । वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्य भने नागरिक उन्मुक्ति पार्टीले जितेको छ ।


वडा नं. ८ माओवादी केन्द्रबाट दिर्घ ठकुल्ला ८ सय ४७ मतका साथ विजयी भएका छन् भने नेपाली काङ्ग्रेसबाट अध्यक्षका उम्मेदवार शेर बहादुर साउदले ६ सय ८३ मत पाएर पराजित भएका छन् । यो वडामा भने नागरिक उन्मुक्ति पार्टी लगायत एमालेको पकड निकै कमजोर देखिएको छ ।


वडा नं. ८ र ९ मा नागरिक उन्मुक्ति पार्टी भन्दा पनि मेयर÷उपमेयरको गठबन्धनमै रहेको नेपाली काङ्ग्रेस मुख्य प्रतिस्पर्धी बन्न पुग्यो ।

त्यस्तै वडा नं. ९ मा लौटनदत्त चौधरी पनि प्यानलसहित पुनः विजयी भएका छन् । उनले ७ सय १६ मत पाएर जित हात पार्दा प्रतिस्पर्धी नेपाली काङ्ग्रेसका विजय धामी ४ सय ९५ मतका साथ पराजित भएका हुन् ।

टीकापुर नगरपालिकामा अन्य ३ वडाको समेत अन्तिम मत परिणाम आइसकेको छ । वडा नं. ३ मा नेपाली काङ्ग्रेसबाट ऋषि श्रीपाइली, वडा नं. ४ र ५ मा नागरिक उन्मुक्ति पार्टीबाट क्रमशः लालबिर चौधरी र बलबिर चौधरी विजयी भएका छन् । यो समाचार लेख्दासम्मको मतगणना अनुसार मेयर र उपमेयर दुइटैमा नागरिक उन्मुक्ती पार्टीको अग्रता रहेको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed