शेयेर गर्नुहोस
बैतडी । जिल्लाको पाटन नगरपालिका ६ को कृष्ण माध्यामिक विद्यालयका शिक्षक धनबहादुर बिष्ट हत्या प्रकरणको सत्यतथ्य छानबीनको माग गर्दै शिक्षकका पेशागत संघसंगठनले आज जिल्लाभरी शिक्षण संस्था बन्दको आह्वान गरेका छन् ।
बिहीबार जिल्लाभरी शिक्षण संस्था बन्दको आह्वान गरिएको संघर्ष समितिका सहसंयोजक लक्ष्मण बोहराले बताए ।
सुर्नया गाउँपालिका २ घर भएका शिक्षक बिष्टको हत्यामा संलग्नको पहिचान भएको भन्ने खबर बाहिर आएपनि आधिकारिक रुपमा सार्वजनिक हुन बाँकी रहेकाले विद्यालय बन्दको कार्यक्रम यथावत रहेको उनले बताए ।
शिक्षक बिष्टको शव अझै आफन्तहरुले बुझि नसकेको अवस्था र घटनाका दोषी पनि सार्वजनिक हुन बाँकी रहेकाले पूर्वघोषित कार्यक्रम यथावत रहेको बोहराले बताए ।
कृष्ण मावि पाटनमा २०४८ सालदेखि अध्यापन गराउँदै आएका शिक्षक बिष्ट पौष २ गते शनिबारका दिन मृत अवस्थामा भेटिएका थिए । उनको हत्या नै भएको प्रहरीको निष्कर्ष रहेको छ ।
सीआइबीको टोली सहित अनुसन्धानमा खटेको प्रहरीले शिक्षक बिष्टको हत्या भएको र त्यसका बारेमा विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । घटनाको अझै पनि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।















