राष्ट्रिय युवासंघ कैलालीको कमिटीमा विवाद

शेयेर गर्नुहोस

टीकापुर । नेकपा एमालेनिकट राष्ट्रिय युवासंघ नेपाल कैलालीको कमिटीमा विवाद देखिएको छ । एमालेले देशैभर २ महिने पार्टी सुदृढीकरण तथा ग्रास रुट अभियान चलाइरहेका बेला जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालमा भने गुट, फुट र विवाद देखिएको हो ।

स्रोतका अनुसार राष्ट्रिय युवा संघ नेपाल कैलालीका संयोजक शिवचन्द सोडारीले चिसापानीमा गुटसम्मेलन गरेपछि विवाद छताछुल्ल भएको हो ।

करिब १५÷२० जना मात्र भेला गरेर जिल्ला सम्मेलनको नाम दिँदै संगठनका केही कार्यकर्ता र पार्टीका जिल्ला कमिटीका केही अगुवा नेताहरु मात्रै सहभागी थिए ।

उक्त भेलाले विधानविपरीत जिल्लाका पदाधिकारी र सदस्यहरू एकलौटी रुपमा नियुक्त गरेको जनाइएको छ ।

यता, राष्ट्रिय युवा संघ नेपालका जिल्लाका आधाभन्दा बढी सदस्यहरु तथा संगठनमा आबद्ध नेता तथा कार्यकर्ताहरुले संगठन र पार्टीको विधि विधानविपरीत बैठक तथा गुट भेलाहरु गरेर संगठनका मूल्य मान्यता कुल्चिने काम गरेको दाबी गरेका छन् ।

संगठनका ८० प्रतिशत युवा नेता तथा कार्यकर्ताले सो गुट सम्मेलनको विरोध गरेका छन् । सो गुट सम्मेलनबारे राष्ट्रिय युवा संघ नेपालले पार्टी र राष्ट्रिय युवा संघको शीर्ष तहलाई ध्यानाकर्षण गराउने भएको छ ।

यस्तै, व्यक्तिवादी चिन्तन भएका नेकपा एमाले कैलालीका पदाधिकारी नै गुटगत कार्यक्रममा सहभागी भएकाले यस विषयमा पनि युवाहरूले खबरदारी गराउने जनाएका छन् ।

संगठनमा अराजकता नल्याउन आग्रह गर्दै नेता तथा कार्यकर्ताहरुले असन्तुष्टि व्यक्त गरेका छन् । यस्तै, संगठनका सुदूरपश्चिम इन्चार्ज, सहइन्चार्ज, संयोजक र सह संयोजक भने उक्त बैठकबारे अनभिज्ञ छन् । त्यस्ता गतिविधि गर्नेहरूलाई कारबाही हुने समेत उनीहरूको भनाइ छ ।

ताजा खबर

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed