शेयेर गर्नुहोस
बैतडी । पिकनिक मनाउन जाँदा मृत फेला परेका जीवन बुडालको मृत्युको कारण पत्ता लगाउन सिआइबीको टोली बैतडी पुगेर अनुसन्धान गरिरहेको छ । बुडाल मृत्यु प्रकरणमा पाँच दिनदेखि प्रदेश मातहतको सिआईबीको टोली बैतडी पुगेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता लोकराज जोशीले जानकारी दिए ।
बुडाल फागुन १३ गते मृत भेटिएका थिए । घटना शङ्कास्पद रहेको भन्दै पिकनिक मनाउन सँगै गएका १२ जनालाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा राखेको छ । बुडालको शव १० दिनदेखि जिल्ला अस्पताल बैतडीमा छ ।
प्रहरी नियन्त्रणमा रहेका १२ जनामाथि ७ दिनको म्याद थपेर अनुसन्धान चलाइरहेको प्रहरीले १२ दिनका लागि म्याद थप गरेको छ । बुडालको हत्या आशंका गर्दै परिवारजनले १२ जनाकै नाममा किटानी जाहेरी दिएको थियो ।
दशरथचन्द नगरपालिका–१० खडेनीका बुडाल फागुन १३ गते दोगडाकेदार–४ जाडाबगर चमेलिया नदि किनारमा मृत फेला परेका थिए । राष्ट्रिय अनुसन्धान कार्यालय बझाङमा कार्यरत बुडाल छुट्टी मनाउन घर आएका बेला साथीहरूसँगै पिकनिक गएका थिए ।
मृतक बुडालका आफन्तले घटनाको सत्यतथ्य छानबिनको माग गर्दै १० दिनदेखि शव बुझ्न मानेका छैनन् ।