कैलालीमा प्रचण्ड गर्मी, जनजीवन प्रभावित बन्दै

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । विगत केही दिनदेखि तापक्रम उच्च भएपछि कैलालीसहित तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ ।

तापक्रम बढेसँगै तातो हावा चल्न थालेपछि जिल्लाका विभिन्न ठाउँमा जनजीवन कष्टकर बन्नका साथ दैनिक कामकाजमा समेत प्रत्यक्ष असर भइरहेको छ ।

टीकापुरमा होटेल व्यवसाय गरिरहेका तुलसीराम चौधरीले गर्मीका कारण व्यवसायमा निकै असर परिरहेको बताए । उनले बिहानैदेखि गर्मी हुन थालेपछि बजार नै सुनसान हुने गरेको बताउदै नागरिकको स्वास्थ्यमा समेत असर परिरहेको दुखेसो पोखे । दिउँसो एकैछिन बाहिर निस्कदा पनि आँखा पोल्ने, टाउको दुख्ने,बेहोस हुने जस्ता समस्या हुने गरेको व्यवसायी चौधरीले बताए । “केही दिनदेखि गर्मी निकै बढेपछि बजार नै सुनसान जस्तो भएपछि व्यवसायमा निकै असर परिरहेको छ,” उनले भने, “दिउँसो एकछिन बाहिर निस्कने हो भने आँखा पोल्छ, टाउको दुख्छ ।”

गर्मीका कारण अन्य व्यवसायहरु पनि सुस्ताएका छन् । अत्याधिक गर्मीले बजारमा किनमेलका लागि उपभोक्ताको संख्या घट्न थालेपछि पसल नै बन्द गरेर बस्ने झोक चल्न थालेको व्यापारीहरुले बताउने गरेका छन् ।

त्यस्तै अब धान लगाउने समय नजिकिए संगै गर्मीले गर्दा किसानहरु पनि मर्कामा परेका छन् । खेतबारीमा व्यस्त हुने यो समयमा गर्मीका कारण बाहिर निस्कनै नसकिएको स्थानीय भेब्ला थारुले बताए । उनले यस्तो गर्मीले अहिले गरिसक्नुपर्ने काम पनि त्यत्तिकै रहेकोले कहिले यो गर्मी कम हुने र आफ्नो काममा फर्किन पाइने भन्ने चिन्ता लागेको बताए । “धान लगाउने समय आयो तर गर्मीले बाहिर निस्कनै सकिँदैन,” उनले भने, “कहिले यो गर्मी कम होला र काममा फर्किन पाइएला भन्ने चिन्ता लागिरहेको छ ।”

कैलालीमा बिहीबार ४३° डिग्रीसम्म तापक्रम महसुस गरिएको थियो । यो अत्याधिक गर्मीले अस्पतालमा विभिन्न रोगका बिरामीहरु बढ्न थालेको टीकापुर अस्पतालले जनाएको छ । पछिल्लो समय टाउको दुख्ने, बान्ता हुने, ज्वरो आउने बिरामीहरु बढिरहेको अस्पतालका सुचना अधिकारी शान्त प्रसाद जोशीले जानकारी दिए । साथै टाइफाइट, झाडापखाला, जल वियोजन (पानीको मात्र कम भएर लाग्ने रोग), पेट दुख्ने बिरामीहरु अस्पताल आउने गरेको जोशीले बताए ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले विषेश बुलेटिन निकालेर तत्काल तापक्रम नघट्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । अझै केही दिन तापक्रम बढ्ने अनुमानसहित तराईका जिल्लामा तातो हावा चल्ने तथा लु लाग्ने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *