शेयेर गर्नुहोस
टीकापुर । कैलालीमा रहेका २ नीजि अस्पताललाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले निर्देशन दिएको छ ।
जिल्लाको सदरमुकाम धनगढीमा स्वास्थ्य सेवा प्रवाह गरिरहेका स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनीलाई बन्द गर्न जिल्ला प्रशासन कार्यालय कैलालीले प्रहरीलाई निर्देशन दिएको हो ।
दुई अस्पतालको अनुगमन गरेपछि प्रशासनले पत्र लेखेर स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी प्रालि र सञ्जिवनी अस्पताल बन्द गर्न भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई निर्देशनसहितको पत्र पठाएको हो । जिल्ला अनुगमन समितिले गरेको अनुगमनका आधारमा ती अस्पताललाई बन्द गर्न निर्देशन दिइएको हो ।
सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीका अनुसार ती अस्पताल कम्पनी रजिष्ट्रार कार्यालय र मूल्य अभिवृद्धि करमा दर्ता गरिएका भए पनि अस्पताल सञ्चालनका अनुमति दिने निकायबाट स्वीकृति नलिएकोले बन्द गर्न निर्देशन दिइएको हो ।
स्वास्थ्य कानुन अनुसार अस्पताल सञ्चालन गर्न १५ शय्याको अस्पतालका लागि स्थानीय तह, २५ शय्याको अस्पताल सञ्चालनको अनुमति प्रदेश स्वास्थ्य निर्देशनालय, दुई सय शय्याको अस्पतालका लागि प्रदेशको सामाजिक विकास मन्त्रालय र त्योभन्दा माथिको अस्पताल सञ्चालनको अनुमति सङ्घीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट अनुमति लिनु पर्ने हुन्छ ।