शेयेर गर्नुहोस
धनगढी, ७ फागुन । सुदूरपश्चिम प्रदेश सरकारले सोमबार ७४ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ ।
प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहको अध्यक्षतामा रहेको मुल समारोह समितिले धनगढीमा विशेष समारोहको आयोजना गरी दिवस मनाएको हो । उक्त समारोहमा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेशवासीको आधारभूत अधिकार कार्यान्वयन गराउन समस्या र चुनौती रहेको बताएका छन । उनले भौगोलिक भुबनोट, गरिबी, शिक्षा तथा स्वास्थ्यको पहुँच लगायतका कारणले आधारभूत अधिकार कार्यान्वयनमा समस्या र चुनौती रहेको बताएका हुन् ।
‘सुदूरपश्चिम प्रदेशमा गरिबी, अशिक्षा, बेरोजगारी, उद्यमशीलताको कमी, स्वास्थ्य संस्थाको अभाव, पूर्वाधार निर्माणमा कमी लगायतका थुप्रै समस्या रहेका छन’ उनले भने ‘यहाँको भुवनोट र स्रोत साधन अभावका कारण पनि प्रदेशको विकासमा केही जटिलता र कठिनाइ भइरहेका छन् ।’
उनले संघिय सरकारले संविधानपद्दत अधिकारहरू प्रदेश सरकारलाई दिन नसक्नु, ऐन निर्माणमा ढिलाइ हुनु लगायतका कारणले पनि प्रदेश सरकारले जनताको हितमा काम गर्न नसकेको बताए । उनले तीन तहको समन्वयात्मक सिद्धान्तलाई प्रदेश सरकार व्यवहारिक रूप दिन तयार रहेको बताए । उनले भने ‘संविधानतः संघ, प्रदेश र स्थानीय तहबिच सहकार्य, सहअस्तित्व र सम्बन्धका आधारमा विकसित हुने कुरामा प्रमुख प्राथमिकतामा राखेको छ ।’
मुख्यमन्त्री शाहको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश प्रमुख देवराज जोशी प्रमुख अतिथि रहेका थिए । प्रदेशका प्रमुख सचिव हरि लम्सालले स्वागत गरेको कार्यक्रमको सञ्चालन प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले गरेका थिए । दिवसको अवसरमा आयोजित कार्यक्रममा विभिन्न झाँकी, डेउडा लगायतका सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । यसअघि प्रदेश प्रमुख जोशीले झन्डोत्तोलन गर्नुका साथै सहिदका तस्बिर माथि माल्यार्पण गरेका थिए ।