रेशम चौधरी पार्टी अध्यक्ष भएको जानकारी निर्वाचन आयोग पुग्यो

शेयेर गर्नुहोस

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को अध्यक्ष रेशम चौधरी भएको जानकारी निर्वाचन आयोग पुगेको छ ।

२७ पुस २०८० मा नागरिक उन्मुक्ति पार्टीको अध्यक्षमा चौधरी सर्वसम्मत चयन भएका थिए । कैलालीको टीकापुरमा सम्पन्न महाधिवेशनबाट अध्यक्षमा चौधरीसहितका पदाधिकारी चयन भएको जानकारीसहित दलको अभिलेख अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन पुगेको हो ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार गत माघ २९ गते नाउपाले निर्वाचन आयोगमा निवेदन दिएको हो । ‘पार्टीको अभिलेख अद्यावधिकका लागि नाउपाको निवेदन आएको छ । तर, आयोगले त्यसउपर कुनै निर्णय लिएको छैन,’ प्रवक्ता शर्माले भने ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा ५२ अनुसार राजनीतिक दलले आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिह्न ९लोगो० मा परिवर्तन वा संशोधन गरेको र पदाधिकारीको हेरफेर भएको खण्डमा ३० दिनभित्र निर्वाचन आयोगमा जानकारी गराउनुपर्ने हुन्छ । त्यसअनुसार नै नागरिक उन्मुक्ति पार्टीले महाधिवेशनबाट भएको पार्टी पदाधिकारी हेरफेर अनुसार दलको अभिलेख अद्यावधिकका लागि आयोगमा निवेदन दिएको हो ।

३ फागुन २०७८ मा निर्वाचन आयोगमा दर्ता हुँदा यो पार्टीको अध्यक्षमा रञ्जिता श्रेष्ठ थिइन् । पहिलो महाधिवेशनले भने रेशम चौधरीलाई अध्यक्ष चयन गरेको छ । संस्थापक अध्यक्ष श्रेष्ठ महाधिवेशनपछि सहअध्यक्षमा मनोनित भएकी छन् । श्रेष्ठ चौधरीका श्रीमती हुन् । नाउपाको अध्यक्षमा निर्वाचित चौधरीको कानुनी योग्यताको विषयमा कतिपयले प्रश्न उठाउँदै आएका छन् ।

अदालतबाट हत्या मुद्दामा दोषी ठहर भई जेल सजाय भुक्तान गरिरहेका बेला रेशम चौधरीले राष्ट्रपतिबाट माफी पाएका थिए । अदालतबाट हत्या मुद्दामा दोषी ठहर भएको व्यक्ति राजनीतिक दलको सदस्य वा पदाधिकारी रहन नमिल्ने कानुनी व्यवस्था छ । तर, चौधरीले राष्ट्रपतिबाट माफी पाएकाले कानुनी व्यवस्थाको ब्याख्याको सम्बन्धमा फरक–फरक धारणा आइरहेका बेला यो विषय निर्वाचन आयोग पुगेको हो ।

राजनीतिक दल सम्बन्धी ऐनको दफा १४ मा राजनीतिक दलको सदस्य हुने योग्यता सम्बन्धी व्यवस्था छ । जसअनुसार कुनै पनि राजनीतिक दलको सदस्य नैतिक पतन देखिने फौजदारी कसुरमा सजाय नपाएको हुनुपर्छ । रेशम चौधरीको हकमा यो व्यवस्था आकर्षित हुने वा नहुनेबारे अब निर्वाचन आयोगले ब्याख्या गर्नेछ ।

पदाधिकारी हेरफेरको सम्बन्धमा आयोगले जाँचबुझ गर्न सक्ने व्यवस्था राजनीतिक दल सम्बन्धी नियमावलीको नियम २५ मा छ । ‘‘आयोगले त्यस्तो परिवर्तन, संशोधन वा हेरफेर संविधान, ऐन, यस नियमावली तथा दलको विधान बमोजिम भए नभएको र सो सम्बन्धमा आधिकारिक निर्णय भए नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ’ नियमावलीको नियम २५÷२० मा भनिएको छ ।

जाँचबुझ गर्दा परिवर्तन, संशोधन वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने निष्कर्षमा आयोग पुगेको खण्डमा दलको अखिलेख अद्यावधिक हुने छैन । यस्तो अवस्थामा आयोगले अखिलेख अद्यावधिक हुन नसक्ने कारण खुलाई सुधार सहितको विवरण पेश गर्न त्यस्तो दललाई थप सात दिनको समय दिनुपर्ने हुन्छ ।

पुनः प्राप्त विवरणमा आयोग त्यसमा सन्तुष्ट भए अभिलेख अद्यावधिक हुन्छ । आयोग सन्तुष्ट नभए त्यस्तो दलको अभिलेख अद्यावधिक हुँदैन र पदाधिकारी हेरफेर वा अन्य प्रकारको हेरफेर र संशोधनले मान्यता पाउँदैन ।
(साभारः अनलाइन खबर)

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed