शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । कैलालीको टीकापुर नगरपालिका-७ स्थित सती कर्णाली सामुदायिक वन उपभोक्ता समुहलाई पर्यटकीय स्थलको रुपमा विकास गर्ने कामलाई सक्रियताका साथ अगाडी बढाइएको छ । पर्यटकीय सम्भावना बोकेको यो सामुदायिक वनलाई सुन्दर पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले काम भइरहेको हो ।
सामुदायिक वन नजिकै नेपालकै सबैभन्दा ठूलो शिवलिङ्ग रहेको पदमप्रकाशेश्वर मन्दिरसमेत रहेकाले पनि वनलाई पर्यटकीय स्थलका रुपमा विकास गरिदैँ आएको छ । २५८.६३ हेक्टर क्षेत्रफल आगटेको वन नजिकै पुर्वी भागमा कर्णाली र बर्दिया राष्ट्रिय निकुञ्ज, पश्चिम भागमा रमणीय ताल, दक्षिण भागमा कर्णाली पुल रहेकाले पनि पर्यटकीय स्थल बनाउन सकिने सम्भावना धेरै भएको स्थानीय उपभोक्ताहरु बताउछन् । साथै नजिकै रहेको राष्ट्रिय निकुञ्जबाट बेलाबखत हात्ती, बाघ, जरायो, चितुवा लगायतका जनावरहरु आउने भएकाले यसलाई पर्यटकीय स्थलको रुपमा विकास गर्दै जाँदा पर्यटकहरु बढ्ने र यसले स्थानीय व्यापार व्यवसाय चलायमान हुनुका साथै वनलाई पनि फाइदा हुने उपभोक्ता समितिका अध्यक्ष जितु चौधरीले बताए ।
उनका अनुसार पर्यटकीय स्थल विकासका लागि डिपिआर बनाउने काम सुरु गरिएको छ भने पिकनिक क्षेत्रमा के कस्ता बोटबिरुवा लगाउँदा अझ सुन्दर देखिएला भन्ने विषयमा छलफल पनि भइरहेको छ । वैज्ञानिक तरिकाले पर्यटकीय स्थल बनाउने योजना रहेको अध्यक्ष चौधरीले जानकारी दिए ।
समय समयमा लोपोन्मुख बन्यजन्तु सरीसृप अजिङ्गर पनि देखिरहने यो सामुदायिक वन भित्र पिकनिक स्थल पनि छ । दशैं तिहार देखि नयांँ बर्षको समयमा यहाँ पिकनिक खानेहरुको भिड पनि लाग्ने गर्दछ । विशेषतः तिहार पछि पिकनिक खानेहरुको समूहले पिकनिक स्थल भरिभराउ हुने गर्दछ । यहाँ पिकनिक खान कैलालीका विभिन्न ठाउँ लगायत छिमेकी जिल्ला बर्दिया, बाँकेबाटसमेत आउने गर्दछन् ।
यस्तै वनभित्र पिकनिक खानेहरुका लागि खानेपानीको ट्याङ्की, विश्राम घर, गोल घर लगायत खसी, कुखुरा काट्ने व्यवस्थित स्थल पनि बनाइएको छ । सामुदायिक वनमा भ्युटावर, सामुदायिक बन क्षेत्रमा दुई वटा काठेपुल भएकाले पनि यो सामुदायिक वन रमणीय बन्दै गएको छ ।
बेत र अजिङ्गर प्रसस्त पाईने यो सामुदायिक वन २०५१ सालमा स्थापना भएको हो । यस सामुदायिक वनमा १ हजार दुई सय ५३ जना उपभोक्ता छन् भने वनमा हाल ३ जना कार्यालय कर्मचारी, ४ जना वन हेरालु र १ जना ड्राइभर छन ।
सामुदायिक वनका एक उपभोक्ताले पर्यटकीय स्थलको रुपमा विकास गर्न सके स्वदेश लगायत छिमेकी देश भारतबाट आउने पर्यटकलाई समेत स्वागत गर्न सकिने बताए । वनको पर्यटकीय स्थललाई अझै व्यवस्थापन गर्नुपर्ने बताउदै अहिले पनि दिनहुँ नागरिक आउने, अवलोकन गर्ने गरेको जानकारी दिए । यस वनलाई अझै सुन्दर बनाउन सबैले हातेमालो गर्नुपर्ने भन्दै पर्यटकीय स्थल विकास गर्दै प्रचारप्रसारसमेत गर्न सके यहाँका नागरिकको जीवनस्तरमा सुधार आउदै जाने बताए ।