नागरिक वडापत्रमा टीकापुर नगरपालिकाको लापरबाही

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर नगरपालिका कार्यालयमा राखिएको नागरिक वडापत्र सेवाग्राहीले नदेखिने गरि गमलाले छेकिएको छ । कार्यालय भवनको प्रवेश ढोकाको यताउता दुई छेउमा राखिएका नागरिक वडापत्र गमलाका बोटबिरुवाले छेकिएर नदेखिने भएको हो ।

कानुन अनुसार नागरिक वडापत्र सरकारी निकायमा आउने सेवाग्राहीले स्पष्ट देख्ने स्थानमा राख्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर टीकापुर नगरपालिकाको प्रिन्टेड नागरिक वडापत्र गमलाले छेकिएको छ । कानुनतस् वडापत्र ७ मिटरको दुरीमा २ इन्च चौडा अक्षरले लेखिएको हुनुपर्छ । तर नगरपालिकाले राखेको वडापत्रमा यो पनि मेल खादैन ।

नागरिक समाज टीकापुरका अध्यक्ष भीमराम चपाईंले नगरपालिकाले राखेको वडापत्रमै समस्या भएको बताए । उनले सेवाग्राही नगरपालिका छिर्ना साथ वडापत्र देख्नुपर्नेमा यसो नभएको बताउदै अहिले गमलाका बोटबिरुवाले छेकिएकोले पढ्न पनि नसकिने अवस्था रहेको बताए । उनले यसमा नगरपालिका प्रशासनको कमजोरी देखिएकोसमेत दाबी गरे । जिम्मेवारी बहन नगर्दा दण्डित नहुने थितिले यस्तो भएको भन्दै यसमा देखिएको कमजोरीले नगरपालिकाको सेवा सुविधा पनि चुस्त दुरुस्त नरहेको प्रष्ट भएको बताए ।

“नागरिक वडापत्र सरकारी निकायमा सेवाग्राही छिर्नासाथ देखिने गरि राख्नुपर्छ जसले हरेक सेवाग्राहीले आफुले त्यहाँबाट पाउने सेवा, लाग्ने समय र दस्तुर, कुन शाखाबाट पाइने भन्ने उल्लेख हुन्छ,” नागरिक अगुवा चपाईंले भनें, “टीकापुर नगरपालिका कार्यालयले राखेको वडापत्र गमलाले छेकेको रहेछ, यसमा नगरपालिका प्रशासनको कमजोरी रहेको छ । यसले नगरपालिकाले दिने सेवा सुविधा चुस्त दुरुस्त नभएको प्रष्ट हुन्छ ।”

उनले हरेक काम गर्न पैसा नै लाग्ने भन्ने नभएको बताए । साना तिना यस्ता काम गर्न इच्छाशक्ति मात्र भएको पुग्ने भन्दै चपाईंले काम गर्ने जागर नै नभए सुधार हुनेमा आशा राख्न नसकिने धारणा व्यक्त गरे । भ्रष्टाचार विरोधी अभियन्तासमेत रहेका चपाईंले वडापत्र संगै हरेक सरकारी निकायमा राखिने म भ्रष्टाचार गर्दिन भन्ने बोर्ड पनि गमलाले छेकेर राखेको प्रती असन्तुष्टि जनाए । उनले सञ्चारमाध्यमले यस्ता विषय उठान गर्नुपर्ने भन्दै नागरिक समाजको पनि ध्यानाकर्षण भएको बताए । चपाईँले नागरिक समाजको तर्फबाट नगरपालिकालाई ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नगरपालिकाले राखेको नागरिक वडापत्रका विषयमा राष्ट्रिय मानवअधिकार आयोगको एक कार्यक्रमका बीच अधिकारकर्मीले समेत असन्तुष्टि जनाएका थिए । नागरिकले वडापत्र देख्न पाउनुपर्ने तर यहाँ गमलाले छेकिएको भन्दै अधिकारकर्मी मधु दवाडीले टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरीसहित कर्मचारीहरु उपस्थित कार्यक्रममा ध्यानाकर्षणसमेत गराएका थिए । उनले नागरिक वडापत्र भंगेरा जत्रो अक्षरले लेखिनुपर्ने भन्दै अक्षर पनि निकै सानो भएकोमा नगरपालिकाले ध्यान दिन सुझाएका थिए ।

तर पनि नगरपालिकाले यसमा ध्यान नदिएको देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत चौधरीले अधिकारकर्मीको सुझावलाई लत्याएको प्रष्ट हुन्छ । कार्यक्रम सकिएको एक हप्ताभन्दा बढी भइसक्दा पनि अहिलेसम्म गमला पनि नहटाइनुले नगरपालिका यसमा लापरबाह भएको बुझिन्छ ।

तर टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौधरीले आफू नयाँ जिम्मेवारीमा आएकाले व्यस्तताका कारण ध्यानमा भए पनि कार्यान्वयन गर्न नसकिएको बताए । उनले नागरिकको सुविधाका लागि वडापत्र राख्नैपर्ने बाध्यकारी व्यवस्था रहेकोमा नगरपालिकाको प्रशासनले नै राख्नुपर्ने बताउदै विगतमा बनाएको वडापत्र पानी, घाम, शितले खुइलिएर कार्यालयमै राखिएको बताए । डिजिटल सिस्टममा राख्ने कि भन्ने विषयमा छलफल भइरहेको बताउदै उनले बजेट व्यवस्थापन गरेर नयाँ आवदेखि डिजिटल सिस्टममै राखिने बताए ।

“म नयाँ जिम्मेवारीमा भएकाले व्यस्तताका कारण अधिकारकर्मीको कुरा ध्यानमा भए पनि कार्यान्वयन हुन सकेको थिएन । राख्न त नगरपालिकाको प्रशासनले नै राख्नुपर्ने हो तर विगतमा बनाएको वडापत्र खुइलिएर कार्यालयले मै छ,” प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने,“अहिले डिजिटल सिस्टम छ त्यसैले त्यही सिस्टममा राख्ने कि भन्ने छलफल भइरहेको छ । बजेट विनियोजन गरेर नयाँ आव देखि डिजिटल सिस्टममा देखिने गरि वडापत्र राख्छौं ।”

उनले ढिलो भए पनि राम्रो गरौं भन्ने सोच भएको बताए । यो विषयमा ध्यानाकर्षण भएको भन्दै एक हप्तामा अर्को राखिने प्रमुख प्रशासकीय अधिकृत चौधरीले दाबी गर्दै नयाँ आवदेखि भने नयाँ राख्ने बताए ।

सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०६४ ले सबै सरकारी निकायहरुमा सबैले देख्ने ठाउँमा नागरिक वडापत्र राख्नुपर्ने कानुनी व्यवस्था गरेको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०६५ समेत ल्याइएको छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *