टीकापुर वडा नम्बर एक लाई चार भागमा विभाजन गरियो

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिकाको एक नम्बर वडालाई चार भागमा विभाजन गरिएको छ । शनिबार बसेको चौधौं नगर सभाले वडा विभाजन गरेको छ ।

नगर सभामा कार्यपालिका सदस्य तथा वडा नम्बर १ का अध्यक्ष मोहन लुहारले वडा विभाजनसम्बन्धि प्रस्ताव पेश गरेका थिए । जसमा नगर सभामा सर्वसम्मत पारित गरिएको हो ।

जमरा पारी एउटा वडा, ब्लक नम्बर ४, ५, ६, ७, ८, २४, २५, बनगाउँ र क्षेगरखैलालाई अर्को वडा, ब्लक नम्बर ९, १०, ११, १२, १३, १५, १६, २२, २३ र व्यवसाय क्षेत्रलाई अर्को वडामा विभाजन गर्ने जनाइएको छ । त्यस्तै अर्को भागमा ब्लक नम्बर १, २, ३, १४, १७, १८, १९, २०, २१, जमरावारी शक्तिनगर, शिवनगरसम्मका वस्ती रहेका छन् ।

वडा विभाजन गर्नु पर्ने भएमा स्थानीय तहमा निर्वाचित भएको दुई वर्ष भित्र वडा विभाजन गरि संघीय सरकारमा पेश गरिसक्नुपर्ने कानुनी व्यवस्थामा टेकेर उक्त प्रस्ताव पारित गरिएको हो ।

नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारुको सभाध्यक्षमा भएको नगर सभाले वडा विभाजनसंगै विभिन्न विधेयकहरु समेत पारित गरेको छ । नगर सभा सदस्य एवं विधायन समिती सदस्य रुकमती डगौरा थारुले प्रस्ताव पेश गरेको विनियोजन विधेयक, सदस्य एवं विधायन समिति संयोजक प्रेमलाल चौधरीले पेश गरेको नगर शिक्षा ऐन पहिलो संशोधन प्रस्ताव, फोहोरमैला व्यवस्थापन विधेयक, २०८० र प्लास्टिक जन्य वस्तु प्रतिबन्ध सम्बन्धि विधेयक, २०८० सर्वसम्मत पारित भएका हुन् ।

सभामा प्रस्ताव गरिएको फोहोरमैला व्यवस्थापन विधेयकमाको छलफलमा नगर सभा सदस्य कमला देवी विश्वकर्मा र खम्म ठकुल्ला सहभागी भएका थिए भने प्लास्टिक जन्य वस्तु प्रतिबन्ध सम्बन्धि विधेयकको छलफलमा सदस्य नरेश विक र भरत साउँद सहभागी भएका थिए ।

नगर सभामा नगर प्रमुख डगौरा थारुले चालू आर्थिक वर्षमा ७ पटक बैठक बसि एक सय ४१ निर्णय गरिएको जानकारी गराएका थिए ।

amazed