शेयेर गर्नुहोस
धनगढी । भारतबाट तस्करीको सामान धमाधम भित्रन थालेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले सीमा क्षेत्रमा उच्च निगरानी बढाएको दाबी गर्दै आए पनि दैनिक लाखौँ मुल्यको अबैध सामान भित्रने क्रम रोकिएको छैन् । प्रहरी र सशस्त्र प्रहरीले स–सानो परिमाणमा अबैध सामान नियन्त्रणमा लिने गरेको भए पनि ठूलो परिमाणको अबैध सामान सेटिङमै भित्रने गरेको छ ।
विशेष गरी कैलाली र कञ्चनपुरमा ठूलो परिमाणमा तस्करीको सामान भित्रने गरेको हो । प्रहरीले भने घरायसी प्रयोजनका लागि ल्याउने व्यक्तिको सामान जफत गर्ने र ठूला कारोबारीको सामान सेटिङमा छोड्ने गरेको स्थानीयको गुनासो छ । एक स्थानीयका अनुसार ५ किलो चिनी, खुर्सानी र प्याज समातेर प्रहरीले ठूलै काम गरेको देखाउने गरेको छ । तर रातिको समयमा ठूलो परिमाणमा आउने सामान नियन्त्रणमा लिने काम कहिँकतैबाट हुने गरेको छैन् । विपन्न परिवारको सामान जफत गरेर धम्क्याउने प्रहरी प्रशासन ठुलाबडाका सामान भने देखे पनि नदेखे झै गर्ने गरेको आरोप स्थानीयको छ ।
हप्तामा वा महिनामा पैसा दिएपछि अवैध सामान पनि बैध हुने तर पैसा नदिएपछि अबैध भन्दै जफत गर्ने काम विगतदेखि जारी नै रहेको गुनासो समेत बढ्न थालेको छ । साथै जफत गरेको कतिपय सामान प्रहरीबाटै गायब हुने गरेको समेत भारतबाट दैनिक उपभोग्य सामान ल्याएर उपभोग गर्दै आएकाहरु बताउँछन् ।
तर सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआइजी) रबिन्द्र केसीले मंगलबार जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको अनुगमन निरीक्षणका क्रममा भन्सार छलीका सामान नियन्त्रण गर्न प्रहरीको सक्रियता बढ्नुपर्ने बताएका छन् । भन्सार छलेर ल्याउने सबै सामान नियन्त्रणमा लिन मातहतका युनिटलाई डीआइजी केशीले निर्देशन नै दिएका छन् ।















