शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । कैलालीमा निर्माण व्यवसायीले सहमति विपरीत सडकमा टिप्पर गुडाइरहेको भन्दै जनताहरु आक्रोशित भएका छन् । जिल्लाको जानकी गाउँपालिका-६ र ८ का सडक छेउका जनताहरु निर्माण व्यवसायीले सहमति उल्लंघन गरेको भन्दै आक्रोशित भएका हुन् ।
टीकापुरलाई पुर्व-पश्चिम राजमार्गसँग जोड्ने वैकल्पिक मार्ग टीकापुर-डुडेझारी सडकखण्डको ग्राभेल सडकमा निर्माण व्यवसायीले पानी हालेर टिप्पर चलाउने सहमति गरिएकोमा एउटा निर्माण व्यवसायीबाहेक अरुले लागू नगरेको भन्दै आइतबार सडकमा टिप्परहरु रोक्दै आक्रोश पोखेका हुन् । उनीहरुले टिप्पर रोकेर प्रहरीलाई समेत बोलाएर सहमति कार्यान्वयन गरे मात्र टिप्पर गुड्न दिने अडान लिएका थिए ।
स्थानीय धिरज देवकोटाले फाइदा निर्माण व्यवसायीले खाने धुलो जनताले खाने भन्दै आक्रोश पोखेका थिए । उनले यथाशीघ्र सडकमा पानी हाल्नुपर्ने अन्यथा टिप्पर नछाड्ने बताएका थिए ।
त्यस्तै स्थानीय काशीराम तिमिल्सिनाले निर्माण व्यवसायीका टिप्पर बाक्लो मात्रामा सडकमा गुड्ने भएकाले धुलोले हैरान बनाएको बताए । उनले टिप्पर र निर्माण व्यवसायीको मनपरीले स्थानीय लगायत आवतजावत गर्नेको स्वास्थ्यमा असर परिरहेको भन्दै सडकमा टिप्पर गुडाउने निर्माण व्यवसायीले पानी नहाले अझै रोक्ने र प्रहरीको जिम्मा लाउने अडान लिएका छन् ।
स्थानीय टेकराज उपाध्यायले सडकमा अत्याधिक धुलो उड्दा सडक छेउका जनता लगायत यात्रुहरु विभिन्न रोगको सिकार हुनुपरेको बताए । उपाध्यायले उक्त सडकमा टिप्पर गुडाउने निर्माण व्यवसायीले पानी हाल्दिएको भए कम धुलो उड्ने र त्यसले स्थानीय लगायत आवतजावत गर्नेलाई समेत समस्या नहुने बताए । गत बुधबार मात्र व्यवसायीसँग पानी हाल्नुपर्ने विषयमा छलफल गरेर सहमति भए पनि एक बाहेक अरुले कार्यान्वयन नगरेपछी टिप्पर रोक्न बाध्य हुनुपरेको उनको भनाई छ । व्यवसायीहरुलाई पछिल्लो दिन ईलाका प्रहरी कार्यालय टीकापुरमा छलफलका लागि बोलाए पनि एक जना मात्र आएको उपाध्यायले जानकारी गराए । निर्माण व्यवसायीलाई बारम्बार ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरेको उनको दाबी छ ।
यता खड्का कृष्ण कन्ट्रक्सनका नर बहादुर साउदले बिहिबार आफूसहित दुई जना ईलाका प्रहरी कार्यालय टीकापुर गएको अन्य कोहि नगएको बताए । उनले अब सहमति अनुसार पानी हालिने भन्दै अवरोध नगर्न आग्रहसमेत गरे ।
त्यस्तै न्यु समीप निर्माण सेवाका सञ्चालक ज्ञानेन्द्र शाहले उक्त सडक हुँदै आफ्नो एउटा मात्र टिप्पर चल्ने गरेको बताए । उनले अब सहमति कार्यान्वयन गर्ने भन्दै मिलाएर कहिलेकाहीँ पानी हाल्दिने बताए ।
आइतबार दिउँसो ईलाका प्रहरी कार्यालय टीकापुरमा भएको छलफलमा उक्त सडक हुँदै टिप्पर चलाउने निर्माण व्यवसायीले पालैपालो पानी हाल्ने सहमति भएको स्थानीय टेकराज उपाध्यायले जानकारी दिए । उनका अनुसार निर्माण व्यवसायीका प्रतिनिधि र आक्रोशित स्थानीयको तर्फका प्रतिनिधिबीच भएको छलफलमा पुनः मौखिम सहमति भएको छ । अब पानी नहाले टिप्पर रोकेर प्रहरी चौकी अमरावतीमा लिएर राख्ने सहमतिसमेत भएको उपाध्याय जानकारी दिए ।















