शेयेर गर्नुहोस
धनगढी । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले सुदूरपश्चिम प्रदेशसभा सदस्य इन्दिरा गिरीलाई कारबाही गरेकी छन् ।
उनले समानुपातिक सांसद गिरीलाई पदमुक्त गरेको पत्र प्रदेश सभामा पठाएकी छन् । पार्टीको निर्णय विपरीत सरकारमा किन गएको भनेर स्पष्टीकरण सोध्दा पनि जवाफ नआएपछि हटाउने निर्णय लिएको श्रेष्ठले बताइन् । रेशम चौधरी पक्षले गिरिलाई मुख्यमन्त्री कमलबहादुर शाह सरकारमा मन्त्री पठाएको थियो ।
लगत्तै रञ्जिताले सरकारबाट तत्काल फिर्ता आउन संसदीय दलका नेता घनश्याम चौधरीलाई निर्देशन दिएकी थिइन् । तर कसैले पनि अध्यक्ष रञ्जीताले दिएको निर्देशन मानेनन् । रञ्जीता पक्ष मानिएका कैलाश चौधरीलाई हटाएर रेशम पक्षले गिरीलाई भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा पठाएका थिए । श्रेष्ठले सरकारमा सहभागी अन्य प्रदेश सभा सदस्यहरुलाई भने कारबाही गरेकी छैनन् । नागरिक उन्मुक्तिका ७ प्रदेश सभा सदस्यमध्ये गिरी र टीका थापा समानुपातिक हुन् ।















