सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि रेशम पक्षीय लक्ष्मण किशोरको दाबी पेस

शेयेर गर्नुहोस

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण किशोर चौधरीले दाबी पेस गरेका छन् । नेपाली काँग्रेस, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र राप्रपा पार्टीका मतसहित लक्ष्मण किशोर प्रदेश प्रमुखको कार्यालय पुगेका हुन् । 

उनले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आइतवार दाबी पेस गरेका छन् । केन्द्रमा माओवादी केन्द्र, नेकपा एमाले, एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टी लगाएतका दलहरूको गठबन्धन रहेका बेला प्रदेशमा काँग्रेस, समाजवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपा मिलेर रेशम चौधरी पक्षधरले अर्काे गठबन्धन गरेका हुन् । सुदूरपश्चिम प्रदेश सरकार निर्माणको लागि काँग्रेस, समाजवादी र नागरिक उन्मुक्ति पार्टीको रेशम लाल चौधरी पक्ष तथा राप्रपाको अलग्गै समझदारी बनेको हो । 

समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारी, नागरिक उन्मुक्तिका दलका नेता घनश्याम चौधरी, काँग्रेस संसदीय दलका नेता कमलबहादुर शाहकाबिच समझदारी बनेपछि लक्ष्मण किशोरले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् । सुदूरपश्चिम प्रदेशमा काँग्रेसका १८, समाजवादीका चार र चार जना नागरिक उन्मुक्ति पार्टी एक राप्रपाका प्रदेश सभा सदस्यहरू एक भएका हुन् ।

सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि आवश्यक २६ मत उनीहरूको पुग्ने भएको छ । नागरिक उन्मुक्तिका तीन जना प्रदेश सभा सदस्यहरू भने कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा रहेका छन् । उनीहरू अध्यक्षा रञ्जिता श्रेष्ठ पक्षका हुन् ।

सुदूरपश्चिममा बहुमतको प्रदेश सरकार गठनका लागि २७ जना आवश्यक हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा एक जनाका निधन भएको छ । नागरिक उन्मुक्ति पार्टीले प्रदेश सभा सदस्य इन्दिरा गिरीलाई पदमुक्त गरिएपछि हाल ५१ सदस्य छन् ।

सुदूरपश्चिममा नेपाली काँग्रेसका १८, माओवादी केन्द्रका सभामुखसहित ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, एकीकृत समाजवादीका ४, राप्रपा १ र १ जना स्वतन्त्र सांसद छन् । अब सरकार निर्माण गर्न २६ मत मात्र आवश्यक हुन्छ ।

amazed