साँफे विमानस्थलः सम्पन्नलाई सहज, विपन्नलाई उस्तै सास्ती

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, अछाम । अछामको साँफे विमानस्थल विपन्नका लागि कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । सपन्नका लागि विमानस्थल सञ्चालन भएपछी सहज भएपनि विपन्नहरुलाई भने अझै विमान चढ्न निकै सास्ती छ ।

साँफेसम्म विमानस्थल सञ्चालन भएको चार वर्षभन्दा बढी भइसक्यो । तर चर्को भाडादरले विपन्नहरुले जस्तोसुकै अप्ठ्यारो परिस्थितिमा पनि विमान चढ्न सकेका छैन । विमानस्थल नजिककै एक स्थानीयका अनुसार भाडादर निकै चर्को भएकाले विपन्न नागरिकको हवाई यात्रा गर्ने सपना अधुरै रहेको बताए । उनले बसमा धनगढीसम्म पुग्न एक हजार मात्र लाग्नेमा विमानमा त्यसको पाँच गुणाबढी भाडा लाग्ने बताउदै इमर्जेन्सी रेफर गरिएका बिरामीले पनि चर्को भाडाका कारण जहाज चढ्न नसक्ने अवस्था रहेको बताए । प्राइभेट कम्पनीले विमान चलाइरहेकाले भाडादर महंगो भएको उनको भनाई छ ।

साँफेबगर नगरपालिकाका निवर्तमान मेयर कुल बहादुर कुँवरले विमानस्थल सञ्चालन भएपछि सहज भएको दाबी गरे । उनले बिरामीहरु, कर्मचारी, व्यवसायीलाई विमानस्थल सञ्चालनले सहजता ल्याएको बताए । निवर्तमान मेयर कुँवरले विमानको भाडा महंगो भएपनि बिरामीको हकमा एम्बुलेन्समा धनगढी जाने भाडाभन्दा कम रहेको र १८ मिनेटनै धनगढी पुगिने भएकाले सहज भएको बताए । विपन्न नागरिकलाई पनि हवाई यात्रामा सहजता ल्याउन सरकारले पहल गर्नुपर्ने उनले बताए । विपन्नलाई गरिब परिचयपत्रका आधारमा छुट दिए सबैलाई हवाइ यात्रा सहज हुने कुँवरको भनाई छ ।

उनले एक महिनाअघि एक जहाज ग्राउन्डेड भएपछि विमानस्थल बन्द भएकोसमेत जानकारी दिए । बन्द विमानस्थल सञ्चालनका लागि पहल भइरहेको बताउदै केही दिनमा सञ्चालनमा आउने बताए । कुँवरका अनुसार धनगढी(साँफे सोमबार र बिहीबार गरेर दुईदिन हवाई उडान गरेको छ र फर्किदा एकदिन धनगढी र एकदिन नेपालगन्ज उडान हुने गर्छ ।

हाल साँफे विमानस्थलमा समिट एयरको विमान चलिरहेको छ । विमानस्थल सञ्चालनमा आएपछी प्रेम बहादुर आले मन्त्री हुँदा उनकै सक्रियतामा नेपाल एयरलाइन्सको विमान चले पनि उनी सरकारबाट हटेपछी एयरलाइन्सका विमान उडान पनि हटाइएको हो । निवर्तमान मेयर कुँवरले नेपाल एयरलाइन्सको उडानको भर नभएको भन्दै समिट एयरले समयमै उडान भर्ने र सेवा, सुविधा पनि राम्रो दिने गरेको दाबी गरेका छन् ।।

अछाम उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष बम बहादुर रावलले विमानस्थल सञ्चालन भएपछि अछाम मात्र नभएर बाजुरासम्मका नागरिकलाई सहजता भएको बताए । उनले हवाई भाडा महंगो भएर कसैलाई मर्का नपरेको भन्दै यात्रुको चापका कारण कोही यात्रुले टिकट नपाएको हुनसक्ने दाबी गरे । कार्यबाहक अध्यक्ष रावलले हवाई उडान नियमित नहुँदा यात्रुको चाप बढी हुने र भनसुनका कारण केहीले टिकट पाउने र केहीले नपाउने अवस्था रहेको बताउदै विमान नियमित सञ्चालन गर्न सके सबैलाई सहज हुने बताए । हाल विमानस्थल बन्द भएकाले समस्या भएको उनको धारणा छ । वैद्यनाथ धाममा महायज्ञ लागेको समय केही दिन विमान चले पनि हाल बन्द नै रहेकाले यसमा सरकारले सोच्नुपर्ने र विमानस्थल सञ्चालनमा ल्याउनुपर्ने बताए । अछामका व्यवसायीले विमानस्थल सञ्चालनका लागि जनप्रतिनिधि, सरोकारवाला निकाय लगायतसँग छलफलसमेत गरेको उनको भनाई छ ।

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *