शेयेर गर्नुहोस
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–९ को जानकी सामुदायिक वनमा तस्करले गोली चलाएका छन् । १२÷१३ जनाको सङ्ख्यामा रहेका उनीहरूले एक राउन्ड गोली चलाएका बताइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार तस्करहरुले हवाई फायर गरेका थिए ।
जङ्गली जनावरको चोरी तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोली देखेपछि तस्करहरूको समूहले गोली चलाएको तर, प्रहरीलाई कुनै चोट नलागेको बताइएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र नेपाल प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरको सादा पोसाकको टोली तस्करहरूको समूहलाई नियन्त्रण गर्न पुगेको थियो । तर, तर उनीहरु फरार भएका छन् ।
उनीहरूले प्रयोग गरेको से १ प ४१११ नम्बरको एउटा मोटरसाइकल, चित्तलका चार टाउकासहित १५६ किलोग्राम मासु, दुई ओटा मासु काट्न प्रयोग गरिने दाउ र दुई चक्कु बरामद गरेको कञ्चनपुर प्रहरीका प्रवक्ता जोशीले बताए । उनका अनुसार घटना आज बिहान ३ बजे तिरको हो । यस विषयमा थप अनुसन्धान डिभिजन वन कार्यालय कञ्चनपुरले गर्ने जनाइएको छ ।















