शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । नेपाल विद्युत प्राधिकरणले टीकापुर नगरपालिका कार्यालाय भवनको विद्युत् लाइन काटिदिएको छ । प्राधिकरणले नगरपालिकाले सडक बत्तीको बाँकी बक्यौता महसुल भुक्तानी नगरेको भन्दै नगरपालिका कार्यालय भवनको विद्युत लाइन काटिदिएको हो ।
प्राधिकरणको टीकापुर वितरण शाखाका प्रमुख ईन्जिनियर कपिल जोशीले हस्ताक्षर गरेर नगरपालिकालाई लेखेको पत्रमा सडक बत्तीको बाँकी बक्यौता महसुल भुक्तानीका लागि बारम्बार लिखित तथा मौखिक जानकारी गराए पनि सुनुवाइ नभएपछी विद्युत लाइन काटेको उल्लेख गरिएको छ । नगरपालिकाले सडक बत्तीको पाँच करोड ९ लाख ९३ हजार ६ सय ४३ रुपैयाँ २३ पैसा महसुल तिर्न बाँकी रहेको प्राधिकरणले जनाएको छ ।
नेपाल विद्युत प्राधिकरण वितरण तथा ग्राहक सेवा निर्देशनालय तथा नेपाल विद्युत प्राधिकरण सुदूरपश्चिम प्रदेश कार्यालयको निर्देशन र नेपाल विद्युत प्राधिकरणको प्रचलित नियमानुसार नगरपालिका कार्यालय भवनको विद्युत लाइन काटेको जनाइएको छ । प्राधिकरणले सडक बत्तीको बाँकी बक्यौता रकम भुक्तानी नभएसम्म लाइन नजोडिने दाबी गरेको छ ।
टीकापुर नगरपालिकाले २०७१/०७२ साल देखि सडक बत्तीको महसुल नतिरेको प्राधिकरणको टीकापुर वितरण केन्द्रले बताएको छ । नगरपालिकालाई बारम्बार चिठीपत्र र मौखिम जानकारी हुँदा पनि लामो समयदेखी सुनुवाइ र काम कारबाही नभएकाले माथिको निर्देशन बमोजिम कार्यालय भवनको लाइन काटिएको बताइएको छ ।
श्रोतका अनुसार टीकापुर नगरपालिका र विद्युत प्राधिकरणबीच सडक बत्तीको महसुलकै विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ । नगरपालिका क्षेत्रभित्रको सार्वजनिक ठाउँमा विद्युत पोल गाडेको भाडा विद्युत प्राधिकरणले दिनुपर्नेमा त्यसो नभएको श्रोतको भनाई छ । श्रोतका अनुसार पोलको भाडा विद्युत प्राधिकरणले दिनु नपर्ने र सडक बत्तीको महसुल नलिने मौखिम समझदारी भएको थियो । तर यस विषयमा कुनै दुई पक्षीय आधिकारिक पत्र नगरपालिकासंग नभएको बुझिएको छ । राजश्व उपशाखाले पनि विद्युत पोलको भाडा लिनुपर्ने कुनै अधिकार नदिएको जनाएको छ ।
नगरपालिका क्षेत्रका मिटर जडान नभएका सडक बत्ती, विद्युत चुहावटका अनावश्यक रकमको बिल नगरपालिकामा आएको टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा थारुले बताए । उनले प्राधिकरणले पुरानोदेखि अहिलेसम्मको सडक बत्ती, चुहावटको बिल नगरपालिकाका आएपछि जनताको कर अनावश्यक रुपमा नतिर्ने भन्दै उक्त बिल स्वीकार नगरेपछी विद्युत लाइन काटेको बताउदै सत्यतथ्य विवरण लिएर आउन आग्रह गरिएको मलवारा दैनिकलाई जानकारी दिए । मेयर डगौराले प्राधिकरणले सडक बत्तीको महसुल पठाएपछी नगरपालिकाले पनि विद्युत पोलको भाडाको हिसाब गरेर पठाउने र कसले के कति तिर्नुपर्ने रहेछ भन्ने थाहा हुने बताएका छन् ।
प्राधिकरणले नगरपालिका कार्यालय भवनको विद्युत लाइन काटेपछी काम कारबाहीमा समस्या आएको छ । विभिन्न कामका लागि नगरपालिका आएका सेवाग्राही विद्युत लाइन काटेपछि फर्किनु परेको र कर्मचारी के गर्ने भन्नेमा अलमलमा परेको दृश्य नगरपालिका भवन परिसरमा देखिएको छ ।















