शेयेर गर्नुहोस
टीकापुर । टीकापुर नगरपालिकाका ६ जना वडाध्यक्षसहित जनप्रतिनिधिले नगर प्रमुखले स्वेच्छाचारी ढंगले नगरपालिका नगरपालिका चलाउन खोजेको आरोप लाउदै आपत्ति जनाएका छन् । आइतबार प्रेस विज्ञप्ति जारी गर्दै नगर प्रमुखले मनोमानी एवं स्वेच्छाचारी ढंगले नगरपालिका चलाउन खोजेको भन्दै आपत्ती जनाएका हुन् ।
वडाध्यक्षहरु र कार्यपालिका सदस्यहरुले नगर प्रमुख रामलाल डगौरा थारुको यस्तो मनोमानी ढंगले दीर्घकालीन रुपमा टीकापुर नगरपालिका र टीकापुरका जनताका लागि ठूलो नकारात्मक प्रभाव देखिएको बताएका छन् । कार्यपालिका सदस्य हुनुको हैसियतले नगर प्रमुखलाई बारम्बार सचेत गर्दा पनि अटेर गरेकाले ३ दिनभित्र सम्बोधन र कार्यान्वयन गर्न अपिल गर्दै अझै बेवास्ता गरे थप संघर्षका कार्यहरु अगाडी बढाइने प्रेस विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्ला, वडा नं. ६ का वडाध्यक्ष बलिराम चौधरी, वडा नं. ९ का वडाध्यक्ष लौटन चौधरी, वडा नं. २ का वडाध्यक्ष दिपक चौधरी, वडा नं. ७ का वडाध्यक्ष यज्ञ प्रसाद न्यौपाने, वडा नं. ३ का वडाध्यक्ष ऋषि श्रीपाइली र कार्यपालिका सदस्यहरु लवरी चौधरी, राजरानी चौधरी, राम बहादुर नागर्जीले हस्ताक्षर गरेर जारी गरेको विज्ञप्तिको पहिलो बुँदामा नगर सभाको बजेट निर्माण प्रक्रियाको छलफल सुरु नभएकोमा आपत्ती जनाएका छन् । स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार जेठ १५ गतेसम्म नगर सभाको चजेट निर्माण प्रक्रियाको छलफल पाँचौ चरण सम्म पुग्नुपर्ने भएतापनि हालसम्म बजेट निर्माणको कुनैपनि कार्यक्रम प्रक्रियागत रूपमा अगाडि नबढेको विज्ञप्तिको पहिलो बुँदामा उल्लेख छ ।
त्यस्तै दोस्रोमा टीकापुरको विकास र सुशासनमा महत्व राख्ने राजस्व आम्दानीमा प्रभाव पार्ने चारवटा कार्यक्रमहरु औंल्याउँदै त्यसमा ध्यान नदिएर राजस्व चुहावट हुने वातावरण सिर्जना भएकोले यसलाई ठोस नीति र योजनासहित अगाडि बढ्न अपिल गरेका छन् । राजस्व आम्दानीमा प्रभाव पार्ने ढुङ्गा, गिट्टी र बालुवाको ठेक्का समयमा गर्न नसकेको, सनकट्टी घाट र दौलतपुर घाटको ठेक्का लगाउन नसकेको, टीकापुर पार्कको आँप बगैचा, र्याफ्टिङ र आइल्याण्डको ठेक्का नलगाएको, कृषि हाटबजार ठेक्का लगाउन नसकेको र मनोमानी ढङ्गले कृषक तथा व्यापारीहरू बाट रकम असुल गरेको, टीकापुर नगरपालिकाको परिसरमा रहेका सटरहरूको भाडा व्यवस्थापन गर्न नसकेको उनीहरुको दाबी छ ।
तेस्रोमा २०८० मंसिर २५ गतेको २४ औ कार्यपालिका बैठकका निर्णयहरूमा बहुमत कार्यपालिका सदस्यले विरोध जनाई २०८० माघ ४ मा प्रेस विज्ञप्ति जारी गर्दा समेत कार्यपालिका सदस्यहरूले उठाएका विषयहरू हालसम्म सम्बोधन नभएकाले यथाशिघ्र सम्बोधन गर्नुपर्ने र चौथोमा तेर्हौं नगर सभाबाट पारित भएका योजनाहरू औचित्य पुष्टि नगरी आफू अनुकुल संशोधन गरेकोले तत्काल तेर्हौं नगर सभाबाट पारित योजनाहरू जस्ताको तस्तै राख्नुपर्ने माग छ ।
यसैगरी पाँचौमा देशमा आर्थिक मन्दि भएको अवस्थामा अनावश्यक फजुल खर्च नगर्न पटक पटक नेपाल सरकारका विभिन्न नियमनकारी निकायहरुबाट पत्राचार गरेको विषयलाई समेत अवज्ञा गरी आफूखुसी कार्य गर्ने गरेकोले यस्ता कार्यहरु अबिलम्ब रोक्न र छैटौंमा टीकापुर नगर कार्यपालिकाको बैठकमा छलफल नभएका एजेण्डाहरू मनोमानी ढंगले थपगरी पटक-पटक निर्णय पुस्तिकामा आफ्नो अनुकुलताका विषयहरू समावेश गरी निर्णयहरू वेबसाइटमा हाल्ने गरेकाले सो प्रवृति सुधार गर्न ध्यानाकर्षण गराएका छन् ।
वडाध्यक्षसहितका जनप्रतिनिधिहरुले जारी गरेको प्रेस विज्ञप्तिमा नेकपा (माओवादी केन्द्र) टीकापुर नगर समितिले ध्यानाकर्षण भएको जनाएको छ । पार्टीले जनप्रतिनिधिहरुले उठाएका विषयहरुमा पुर्ण साथ, समर्थन एवं ऐक्यबद्धता रहेको बताएको छ ।