शेयेर गर्नुहोस
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिम १० वर्षपछि मंगलबार टी–२० विश्वकप मैदानमा उपस्थित हुँदैछ । बंगलादेशमा सन् २०१४ मा १० वर्षअघि नेपाल टी–२० विश्वकप क्रिकेटमा डेब्यु गर्दा सिंगो नेपाल क्रिकेटमय बनेको थियो । अमेरिका र वेस्ट इन्डिजमा जारी विश्वकपमा नेपालको उपस्थितलाई आम नेपालीसँगै विश्व क्रिकेटले महत्व साथ हेरेको छ । पारस खड्काको कप्तानीमा बंगलादेशमा विश्वकपमा डेब्यु गरेको नेपालले १० वर्षपछि रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ । १० वर्षअघि विश्वकप टोलीमा रहेका राष्ट्रिय टिमका खेलाडीमध्ये अहिले सोमपाल कामीबाहेक सबै नयाँ छन् ।
१० वर्षको अवधिमा संरचनागत सुधार नभए पनि नेपाली क्रिकेट खेलाडीको मेहनतले फेरि विश्वकपको मैदानमा नेपाल पुगेको छ । नेपाली क्रिकेट फ्यानको १० वर्षको प्रतिक्षा मंगलबार राति अमेरिकाको डालास मैदानमा पूरा हुँदैछ । पहिलो भिडन्त मंगलबार राति नेदरल्यान्ड्ससँग नेपालले पहिलो खेल मंगलबार राति ९ः१५ बजे अमेरिकाको डालासस्थित ग्रान्ड पियरे मैदानमा हुँदैछ । नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपालले विश्वकपको सुरुवात गर्दैछ । विश्वपको समूह ‘डी’मा रहेको नेपालका लागि नेदरल्यान्ड्स चिरपरिचित प्रतिद्वन्द्वी हो । खेलअघि सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कप्तान रोहितकुमार पौडेलले विश्वकपको पहिलो खेलका लागि उत्साहित रहेको बताइसकेका छन् ।
कप्तान पौडेलले भने, ‘१० वर्षमा हामीले फेरि मौका पाएका छौं । नेदरल्यान्ड्ससँग खेल्न सबै खेलाडी शारीरिक र मानसिक रुपमा तयार छौँ । नेदरल्यान्ड्ससँग हामीले पटकपटक खेलिरहेकोले जित्नका लागि खेल्नेछौँ ।’ डालासमा नेपाली समर्थकको साथले थप ऊर्जा दिने कप्तान पौडेलको भनाइ छ । उनले शित र घामको अवस्थालाई हेरेर टसपछि निर्णय हुने बताएका छन् । टसले जित र हारसँग सम्बन्ध नराख्ने उनको भनाइ छ । उनले नेपालको जितले सबै समर्थक र नेपालीलाई खुशीको अनुभूति दिने भन्दै नेपालको प्रदर्शन आगामी पुस्तालाईसमेत प्रोत्साहन पुग्ने हुनुपर्ने उनले बताए ।
नेपाल र नेदरल्यान्ड्सको खेल हुने समयको मौसम सफा हुने पूर्वानुमान मौसमविद्ले गरेका छन् । नेदरल्यान्ड्सका प्रशिक्षक रायन कुकलेसमेत नेपालसँग सजक भएर मैदान उत्रने बताएका छन् ।