जनताका समस्याको समाधान र विकास निर्माणलाई प्राथमिकतामा राखेका छौंः अध्यक्ष ठकुल्ला

शेयेर गर्नुहोस

टीकापुर । चालु आर्थिक वर्ष २०८०/०८१ सकिन अब एक महिना बाँकी छ । स्थानीय तहहरुले चालु आवका योजनाहरु लगभग सकेका छन् भने कतिपय योजनाका कामहरु भइरहेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणमा स्थानीय तहले छलफल गरिरहेका छन् । टीकापुर नगरपालिकाका वडा कार्यालयको चालु आवको बजेट सकिएको छ । योजना निर्माणका कामहरु, बजेटको सदुपयोगका विषयमा केन्द्रित रहेर यस मलवारा दैनिकका सह सम्पादक यज्ञराज उपाध्यायले टीकापुर नगरपालिका वडा नं. ८ का वडाध्यक्ष दीर्घ बहादुर ठकुल्लासँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, वडाध्यक्ष ठकुल्ला सँगको कुराकानीको सम्पादित अंशः

– चालू आर्थिक वर्षको अहिलेसम्म तपाईको वडामा योजना निर्माणका कामहरु के के भए ? अब के के छन् ?
पुराना कामहरु हाम्रो निरन्तर छन् । यो वडाको प्रमुख बाटोको रुपमा सुर्यपुरदेखी वडा कार्यालय हुँदै खक्रौला भन्सार पुग्ने बाटोको काम लगभग लगभग अन्तिम चरणमा पुगिसकेको छ । यो मुल बाटोलाई हामीले प्राथमिकतामा समेत राखेका छौं । यो वर्ष सम्पन्न भएन भने अर्को वर्षको बजेटबाट यसलाई सम्पन्न गर्छौं । आवश्यकताहरु धेरै र बजेट थोरै हुने भएकाले सबै योजनाहरु एकसाथ सुरु गर्न गार्हो छ । यो बाढीपीडित क्षेत्र भएकाले धेरै बाटाहरु तहसनहस भएका छन् । संघ, प्रदेश, रानी जमराको सहयोगबाट विभिन्न विकास निर्माणका कामहरु सुरु गरेका छौं त्यो एउटा पाटो रह्यो । हामीले गरिब घरहरुलाई शौचालय निर्माण कार्यक्रम, किसानको लागि पावरटिलर कार्यक्रम, बोरिङ कार्यक्रम, धानको बिउ वितरण कार्यक्रमहरु यस्ता क्षेत्रमा बजेट विनियोजन गरेर काम गरेका छौँ । मुल बाटोको कालोपत्रेको सन्दर्भमा वडाको बजेटभन्दा पनि एक वडा एक गौरवको आयोजना अन्तर्गत प्रत्यक वडाको लागि नगर सभाबाटै ८०/८० लाख रुपैयाँ छुट्याइएको थियो । त्यो बजेट हामीले मुल बाटोमा हालेका छौं । त्यसैगरी प्रदेशको झन्डै ४० लाख बजेट पनि त्यसै बाटोमा छ ।

– चालु आवमा वडा नं. ८ मा योजना निर्माणमा अन्य कामहरु के के थिए ? अहिलेसम्म वडामा कति सडक कालोपत्रे भयोरु कति ग्राभेल भयो ?
मैले भनिसकें हाम्रो यो वडामा नगर सभाबाटै प्रत्येक वडालाई एक वडा एक गौरवको योजना अन्तर्गत ८०/८० विभाजन गर्ने गरेका हुन्छौं । उक्त बजेट हामीले सुर्यपुरदेखि वडा कार्यालय हुँदै खक्रौला भन्सार पुग्ने मुल बाटोमा हालेका छौँ । खासगरी बाढीले भत्काएको ठाउँमा पम्प वाल बनाएर काम भइराखेको छ । त्यसैगरी १८ लाख जति विपदको बजेटबाट पनि त्यां माटो पटानीको काम सुरु गरेका छौं र प्रदेशको बजेटबाट पनि झन्डै चार सय मिटर जति पिज हामीले बनायौं । मुख्य योजना यहि नै हो मुल बाटोमा । किनभने यो हुलाकी रोडसंग जोडिने, भन्सारसंग जोडिने, बर्दियासंग पनि यो बाटोले पहुँच पुगाउने हुनाले आवागमनको क्षेत्रलाई व्यवस्थित गर्न बजेट हालेका छौं । अर्को कुरा हाम्रा सेवा केन्द्रहरु पनि यसै मुल बाटोमा पर्छन् । वडा कार्यालय, स्वास्थ्य केन्द्र, विद्यालयहरु यहि बाटोको वरिपरि छन् । त्यस्तै हाम्रो बस्ती पनि यसै बाटोको वरिपरि विकास भाको हुनाले प्राथमिकतामा राखेका छौं योजनाको हिसाबले ।

– चालु आवमा वडा नं. ८ को बजेट कति थियो रु अहिलेसम्म कति बजेट खर्च भयो ?
विकास निर्माणका सवालमा हामीले स्थानीय सरकारको बजेट विनियोजनको एउटा प्रक्रिया बनाएका छौं । जस्तै हाम्रा पाँच वटा विषयगत क्षेत्रहरु छन् । भौतिक पुर्वाधार क्षेत्रतर्फ ५४ प्रतिशत हुन्छ । सामाजिक विकास क्षेत्रमा २० प्रतिशत, आर्थिक विकास क्षेत्रमा २० प्रतिशत, सुशासन क्षेत्रमा ३ प्रतिशत र वन, वातावरण तथा विपद् व्यवस्थापनमा ३ प्रतिशत हुन्छ । चालु आवमा यो वडाका लागि छुट्याइएको बजेट ४६ लाख ९८ हजार हो । यसमा कति खर्च भयो भन्ने ठ्याक्कै जानकारी छैन । किनभने भुक्तानी पालिकाले गर्ने हुनाले हामीले योजनाहरु सम्पन्न हुँदै सिफारिस गरिरहेका छौं । जे होस कामहरु सबै सुरु भइसकेका छन् ।

– तपाईको यो दोश्रो कार्यकाल पनि हो । तपाईसहित वडा कार्यालयको काम कारबाहीले वडाबासी कत्तिको सन्तुष्ट छन् रु वडाका विभिन्न योजना तथा कार्यक्रमहरुमा जनसहभागिता कत्तिको छ अध्यक्ष ज्यु ?
जनताहरु सन्तुष्ट हुने कुरालाई कसरी व्याख्या गर्ने भन्ने कुरा हो । असीमित आवश्यकताहरु छन्, साधनस्रोत सिमित छ, हामी धेरै पछाडी छौं विकासको दृष्टिकोणले होस या आर्थिक, सामाजिक, सांस्कृतिक दृष्टिकोणले होस । हाम्रो चेतना अझै अगाडी बढ्न सकेको छैन । हामीले अब विश्वसँग दाज्ने हो भने हामी धेरै पछाडी छौं तर टेक्नोलोजीले हामीलाई अगाडी दौडाउन खोजेको छ । हामी सबै तिरको कुराहरु एकैछिनमा थाहा पाउछौं कहाँ कस्तो भन्ने । त्यही कुरा यहाँ खोज्छौं । त्यो कुराहरु यहाँको साधनस्रोतले भ्याउन पर्यो नि । हाम्रो राष्ट्रिय आम्दानी, उत्पादन केही छैन । त्यही किसिमको पुँजी छैन । कुनै क्षेत्रमा लगानी राज्यले गर्न सकेको छैन । त्यसैले नागरिक सन्तुष्ट छन् भन्ने कुरामा म आफै बिश्वस्त छैन । त्यसैले सकेसम्म हामीले हाम्रो जिम्मेवारी निर्वाह गर्ने हो । हाम्रो जिम्मेवारी भित्र पर्ने कुराहरुलाई राम्रोसँग सञ्चालन गर्ने हो र प्रयत्नहरु गरेका छौं ।

– यस वडा नं. ८ मा नदी कटान, बाढी र डुबानको समस्या निकै धेरै छ । बर्षामा यसबाट धेरै नागरिक प्रभावित हुने गर्दछन् । यो समस्या समाधानका लागि वडाको भुमिका के छ ?
यो नदी कटानको विषय धेरै लामो समयदेखीको चल्दै आएको छ । यसबाट यहाँ धेरै जनता विस्थापित पनि भइसकेका छन् । नदी कटानले साविक धनसिंहपुर गाविसको ९ नं. वडा नै छैन । १ नं. वडाको बीचमा नदी छिरेर अहिले पारी श्रीलंका बनेको छ । बाढी बर्सेनि आउँछ, बर्सेनि कटान गरिराखेको छ । तथापि अहिले राष्ट्रिय गौरवको आयोजना रानी जमरा कुलरिया सिचाई आयोजनाले केही कुराहरु व्यवस्थित गर्ने प्रयास गरिरहेको छ । कर्णाली नदीमा ठाउँ ठाउँमा तटबन्धको काम भएका छन् । नदीले गर्ने कटानलाई रोक्न तटबन्ध लगायतका कामका लागि वडा कार्यालयले पहल गर्ने हो जुन काम हामीले गरिरहेकै छौं । रानी जमरा कुलरियाले ठेक्का दिने ठेकेदारहरुले राम्रो काम नगर्ने भएकाले समस्या हुने गरेको छ । यसका लागि पनि हामीले पहल गरिरहेका छौं ।

– तपाईकै वडाअन्तर्गत पर्ने कर्णाली नदी पारिको श्रीलंकाको जग्गा विवाद खास के हो अध्यक्ष ज्यु ? करिब ५ दशकदेखि भोगचलन गर्दै आएका स्थानीयको ऐलानी जग्गा अहिले केही व्यक्तिले आफ्नो नम्बरी जग्गा भन्दै दाबी गर्नुको तात्पर्य के रहेछ ?
यसको विषयमा वडा कार्यालयले द्वन्द्व नहोस भने द्वन्द्वलाई समाधान गर्ने प्रयत्न गरिरहेको छ । बाँकी वडा कार्यालयले केही गर्न मिल्दैन । कानुनी विषयमा जे छ नियमपुर्वक बोल्दिने कुरा हुन्छ । यो श्रीलंकाको विषयमा समस्या छ । विगतमा नदीले क्षतविक्षत गरेको थियो कसैलाई चासो थिएन । मान्छेहरु विस्थापित भएर गएका थिए । पछिल्लो समय हामीले तटबन्धनको पहल गर्यौं, तटबन्ध निर्माण भयो, नदी पारिको जग्गा जब सुरक्षित हुन थाल्यो । हामीले यो वडा कार्यालयको पहलमा आधारभूत स्वास्थ्य इकाइ सञ्चालन गरेका छौँ । एउटा विद्यालयलाई व्यवस्थित बनाएका छौं । फरक प्रदेशको जिल्लाबाट बिजुली ल्याएर जनतालाई बिजुलीको सुविधा दिएका छौं । बाटोघाटो बनाइदिएका छौं । त्यसैले यहाँबाट ४०र५० बर्ष अघि गइसकेकाहरु अहिले फर्किदै छन् । जग्गाको विषयमा ठ्याक्कै नाप्ने अवस्था पनि बनेको छैन । तर कस्तो देखिएको छ भने हिजो जहाँ नम्बरी हो भनेर भोगचलन गरेका थिए त्यो ऐलानी पर्यो र जहाँ उनीहरु अहिलेसम्म ऐलानी जग्गा हो भनेर भोगचलन गरिरहेका छन् त्यहाँ नम्बरी जग्गा गयो भन्ने सुचना आएको छ । त्यहाँका जनताले ठ्याक्कै नाप्न दिएका छैनन् । एउटा पक्ष आफ्नो जग्गा पाउनुपर्यो भन्दै नाप्न दिनुपर्ने पक्षमा पनि छन् । यसको समाधान निस्किन सकेको छैन, प्रक्रियामै छ ।

– अन्त्यमा वडाबासीहरुलाई के भन्न चाहनुहुन्छ ?
वडाबासीहरुले मलाई आफ्नो अमुल्य मत दिएर जिताउनु भएको हो । उहाँहरुप्रती सधैं आभारी छु । वडाबासी लगायत आमनागरिकलाई नआत्तिन आग्रह गर्छु । हाम्रो राजनीतिक, राष्ट्रिय, सामाजिक अवस्था यस्तै छ । राजनीतिक अस्थिरता छ । एउटा व्यक्तिले चाहेर मात्रै केही कुरा हुँदैन । सबै मिलेर जाने, सकारात्मक सोच राख्ने र सन्तुष्ट हुनुपर्यो । समाज बनाउने जिम्मा पदमा बसेको मान्छेको मात्र नभएर सबै नागरिकको हो । सबैले आफ्नो अंशमा रहेको जिम्मेवारी निर्वाह गर्नुपर्छ । वडाको नेतृत्वकर्ताको हैसियतले जनतालाई असहज परेको ठाउँमा सहजीकरण गर्न कहिंकतै कन्जुस्याइँ हुँदैन ।

ताजा खबर

तालमा डुबेर एक जनाको मृत्यु

सेलेना गोमेज बनिन् कान्छी अर्बपति

यी हुन् तातोपानी पिउनुका बेफाइदा

शरीरमा पानीको कमी हुँदा के हुन्छ ?

amazed