शेयेर गर्नुहोस
टीकापुर । चालु आर्थिक वर्ष २०८००८१ सकिन अब एक महिना बाँकी छ । चालु आवका विकास निर्माणका काम र अन्य कार्यक्रमहरु लगभग सकिएका छन् भने कतिपय कामहरु भइरहेका छन् । आगामी आर्थिक वर्षको बजेट निर्माणमा स्थानीय तहले छलफल गरिरहेका छन् । टीकापुर नगरपालिकाका प्रायः सबै वडा कार्यालयको चालु आवको बजेट सकिएको छ ।
योजना निर्माणका कामहरु, बजेटको सदुपयोगका विषयमा केन्द्रित रहेर यस मलवारा दैनिकका सह सम्पादक यज्ञराज उपाध्यायले टीकापुर नगरपालिका वडा नं. ७ का वडाध्यक्ष यज्ञ प्रसाद न्यौपानेसँग संक्षिप्त कुराकानी गरेका छन् । प्रस्तुत छ, वडाध्यक्ष न्यौपाने सँगको कुराकानीको सम्पादित अंशः
– चालू आर्थिक वर्षको अहिलेसम्म तपाईको वडामा योजना निर्माणका कामहरु के के भए ? अब के के बाँकी छन् ?
हामीसँग विभिन्न निकायबाट आएका योजनाहरु छन् । नगरपालिकाबाट आएका योजनाहरु कतिपय सम्पन्न भएर भुक्तानी भइसकेको अवस्था छ भने प्रदेश, संघ र रानी जमरा कुलरिया सिचाईं आयोजनाबाट आएका योजनाहरु निर्माणको क्रममा छन् । नगरबाट आएको सडक कालोपत्रेको योजना जो ५ सय मिटरको छ र उक्त सडक कालोपत्रे अहिले निर्माणाधीन अवस्थामा छ । रानी जमराबाट सडक पानी पिचका योजना थिए ती सम्पन्न भइसकेका छन् ।
– यस वडामा मुख्य योजनाहरु के के थिए ? अहिलेसम्म यस वडामा कति सडक कालोपत्रे र कति सडक ग्राभेल भयो होला ?
हामीसँग नगर गौरवको योजना भन्ने ८० लाख बराबरको एक वडा एक कालोपत्रे सडकको योजना हो । त्यो योजना कार्यान्वयन भइरहेको छ र सडक कालोपत्रेको प्रक्रियामै छ । र वडाको सिलिङबाट आएका योजनाहरुमध्ये विभिन्न सडकहरु ग्राभेल गर्ने कामहरु लगभग सकिसकेका छन् । करिब ७ सय मिटर जति बाटो हामीले ग्राभेल गरेका छौं । रानी जमराबाट करिब ३ किलोमिटर बाटो पानी पिच गरिएको छ । संघ सरकारबाट आएको योजनामा ओजुवा ताल पुर्वाधार निर्माण भनेर ८० लाख रुपैयाँ पर्यटन मन्त्रालयबाट आएको थियो । समपुरक तर्फको ८० लाख रुपैयाँ नगरपालिकाबाट पनि म्याचिङ गर्नुपर्ने थियो र त्यो काम अहिले भइरहेको छ । त्यस्तै सहरी विकास मन्त्रालयबाट आएका ४ सय मिटर पक्की ढल निर्माणको काम राममन्दिर टोलमा भइरहेको छ । दलित जनजाति बस्ती आवासका लागि आएको ५० लाखबाट ४ वटा घरहरु निर्माणकै क्रममा छन् ।
– चालु आवमा यस वडाको जम्मा बजेट कति थियो ? अहिलेसम्म कति खर्च भयो अध्यक्ष ज्यु ?
हामीसँग ५१ लाख बराबरको बजेट थियो । उक्त बजेटले गर्नुपर्ने काम करिब करिब सबै सम्पन्न गर्छौं । प्रदेश सरकारबाट यस वडालाई आएको बजेट एकदमै न्यून थियो । १० लाख बजेट मात्र प्रदेशले दिएको हो । जसले विश्रामबाटिका निर्माण भइरहेको छ । मैले माथि नै भनिसकें संघ सरकारबाट विभिन्न योजना आएका बजेटले अहिले काम भइरहेको छ । यो आर्थिक वर्षको अन्तिमसम्म सम्पन्न भइसक्छन् ।
– वडा नं. ७ का समस्याहरु के के छन् र ती समस्या समाधानका लागि वडाले कस्तो भुमिका निर्वाह गरिरहेको छ ?
पहिलो कुरा त हाम्रो वडा भौगोलिक रुपमा नै मिलेको छैन । सबैभन्दा ठूलो समस्या त यहि हो । किनभने यहि कारणले विकासका योजनाहरु निर्माण गर्न समस्या छ । अर्कोतर्फ यहि वडाको केही गाउँ वडा कार्यालयभन्दा टाढा छन् । त्यहाँका जनतालाई वडा कार्यालयसम्म पुग्न धेरै समय लाग्छ । त्यस्तै जनताका आकांक्षाहरु धेरै छन् । सबै पूरा गर्न पनि गार्हो छ । तथापि हामीले जनताको समस्याको समाधानका लागि बजेटको व्यवस्थापनको काम गरिरहेका छौं ।
– तपाईसहित वडा कार्यालयको काम कारबाहीले वडाबासी कत्तिको सन्तुष्ट छन् ? वडाका विभिन्न योजना तथा कार्यक्रमहरुमा जनसहभागिता कत्तिको छ अध्यक्ष ज्यु ?
स्थानीय तहको २०७४ को पहिलो निर्वाचनपछि अधिकार क्षेत्रका हिसाब सबैभन्दा बढी अधिकार स्थानीय तहको वडा कार्यालयलाई छ । जसमा हामीले २२ वटा अधिकार प्रयोग गर्न सक्छौं । जनताको हरेक डकुमेन्ट बनाउनेदेखि विभिन्न समस्याको सुनुवाइको पहिलो निकाय वडा कार्यालय हो । त्यसैले जनता वडाका जनप्रतिनिधिहरुसँग बढी आशा राख्ने गर्छन् । पछिल्लो समय प्रविधिको विकास भएसँगै धेरै कामहरु अनलाइन सिस्टम अथवा प्रक्रियागत ढंगबाट गर्नुपर्दा जनताले अपेक्षा गरे अनुरुप कामहरु छिटो नहुने, प्रक्रियागत झन्झटले गर्दा सेवाग्राहीले सोचेजस्तो छिटो गर्न सकिएको छैन । यसले हामीलाई पनि पीडा हुन्छ । सरकारले पछिल्लो संरचना र सिस्टम अनुसार कर्मचारी व्यवस्थापन गर्नुपर्ने, जनप्रतिनिधिलाई तालिमको व्यवस्था गर्नुपर्थ्यो । जसले जनतालाई सेवा प्रवाह गर्न छिटो र सजिलो हुन्थ्यो । अनि वडाले गर्ने कार्यक्रमहरुमा जनसहभागिताको सवालमा जनताहरु वडाको कार्यक्रममा उल्लेख्य रुपमा सहभागी हुने गरेको देखेको छु । हामीले जनताको आकांक्षा अनुरुप काम गरिरहेका छौं । बजेटको समस्याले कतिपय काम चाहेर पनि गर्न सकिँदैन । नत्र जनताको चाहना अनुसारका कार्यक्रमलाई हामीले प्राथमिकता दिएका छौं ।
– पछिल्लो समय वैदेशिक रोजगारीमा जाने युवाहरुको भिड नै लागेको छ । यस वडाबाट पनि धेरै युवाहरु विदेश पलायन भएका छन् । उनीहरुलाई आफ्नै ठाउँमा केही गर्ने वातावरण सिर्जना गर्न वडाको भुमिका के छ ?
यस वडाबाट यो वर्ष ५०–६० जना युवायुवती विदेश गएको बुझिएको छ । उनीहरुमध्ये धेरै अध्ययनका लागि विदेश गएका भन्ने छ । कतिपय रोजगारका लागि पनि तेस्रो मुलुक गएका छन् । देशमा रोजगारीको अभाव भएकै कारण युवाहरु विदेश पलायन भइरहेका छन् । वडाले मात्र रोजगारी सिर्जना गर्न सक्ने अवस्था छैन । वडाको सानो बजेटले रोजगारीको समस्याको सम्बोधन गर्न सक्दैन । तथापि हामीले विभिन्न सिपमूलक कार्यक्रम सञ्चालन गरिरहेका हुन्छौं । यसबाट पनि उनीहरुलाई स्वरोजगार बनाउन सकिन्छ भन्ने लाग्छ । प्रदेश, संघ सरकारले रोजगारी सिर्जना गर्न उद्योगधन्दा सञ्चालन गर्नुपर्छ । छुट्टै निति बनाएर युवाहरुका लागि लगानी बढाउनुपर्छ । सरकारले प्याकेजले कार्यक्रम ल्याउनुपर्छ ।
– अन्त्यमा वडाबासी जनताहरुलाई के भन्न चाहनुहुन्छ ?
वडाबासीहरुले मलाई आफ्नो अमुल्य मत दिएर जिताउनु भएको हो । उहाँहरुप्रती सधैं आभारी छु । जनताका आकांक्षा अत्याधिक धेरै छन् । युवापुस्ता हामीसँग छैन । जुन पुस्ताले केही गर्नुपर्ने हो, जो पुस्ताको श्रमले केही बन्ने हो त्यो पुस्ता अहिले हामीसँग छैन भन्दा पनि फरक पर्दैन अहिलेको अवस्थालाई नियाल्दा । तथापि अहिले।केही आश लाग्दा योजनाहरु हामीले देखेका छौं । समुहगत रुपमा गरिने तरकारी खेती, बेमौसमी बालीहरु उत्पादन जसरी अहिले भइरहेका छन् यसले केही आशा जगाएको अवस्था छ । यस्ता कामहरुमा वैदेशिक रोजगारी रहेका नेपालीहरु लाग्नुपर्छ । वडाले पनि यस्ता क्षेत्रमा सक्दो सहयोग गर्नेछ भन्न चाहन्छ । वडाबासीहरुले राम्रै साथ दिरहनुभएको छ । उहाँको आकांक्षा सकेसम्म पूरा गर्न रातदिन नभनी खटिरहने छु ।