तीन अर्ब ७० करोड पुग्यो कैलालीका स्थानीय तहहरुको बेरुजु

शेयेर गर्नुहोस

धनगढी । कैलालीका १३ वटा स्थानीय तहको बेरुजु तीन अर्ब ६९ करोड ९६ लाख १७ हजार रुपैयाँ पुगेको छ । ऐन, नियम विपरीत मनपरी तरिकाले बजेट खर्च गर्ने परिपाटीका कारण स्थानीय तहको बेरुजु घट्नुको सट्टा बर्सेनि बढ्दै गएको हो । महालेखा परीक्षकको कार्यालयले तयार पारेको आर्थिक वर्ष २०७९÷८० अन्तिम लेखापरीक्षण प्रतिवेदन अनुसार यहाँका प्रत्येक स्थानीय तहमा करोडौँ रुपैयाँ नयाँ बेरुजु थपिएको छ ।

कैलालीमा सबैभन्दा बढी बेरुजु घोडाघोडी नगरपालिकाको देखिएको छ । सो पालिकाको कुल बेरुजु रकम ४९ करोड ५४ लाख ८३ हजार पुगेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९÷८० लेखापरीक्षणबाट यो पालिकाको नयाँ बेरुजु दुई करोड ९८ लाख ९० हजार रुपियाँ देखिएको छ । यसअघिको आर्थिक वर्षसम्म घोडाघोडीको बेरुजु ४६ करोड ५८ लाख ६२ हजार रुपैयाँ रहेको थियो ।

यस्तै, दोस्रो बढी बेरुजु गोदावरी नगरपालिकाको रहेको छ । सो पालिकाको अद्यावधिक बेरुजु ४९ करोड २९ लाख सात हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९÷८० लेखापरीक्षणबाट यो पालिकाको नयाँ बेरुजु पाँच करोड ४८ लाख ७७ हजार रुपैयाँ थप भएको छ । यस अघिसम्मको बेरुजु ४३ करोड ८६ लाख ३१ रुपैयाँ रहेको थियो ।

तेस्रो बढी बेरुजु लम्कीचुहा नगरपालिकाको देखिएको छ । लम्कीको अद्यावधिक बेरुजु ४७ करोड छ लाख ४१ हजार रुपैयाँ पुगेको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ । आर्थिक वर्ष २०७९र८० लेखापरीक्षणबाट लम्कीचुहाको नयाँ बेरुजु चार करोड १० हजार रुपैयाँ देखिएको छ ।अघिल्लो आर्थिक वर्षसम्म यो पालिकाको बेरुजु ४३ हजार सात लाख ६६ हजार रहेकोमा एक लाख ३५ हजार रुपैयाँ समपरीक्षण गरिएको थियो ।

धनगढी उपमहानगरपालिकाको कुल बेरुजु ३२ करोड ४८ लाख ७१ हजार रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७९÷८० मा मात्रै धनगढीको बेरुजु चार करोड ५२ लाख ९३ हजार रुपैयाँ थपिएको छ । त्यस्तै, टीकापुर नगरपालिकाको दुई करोड ३७ लाख ७९ हजार नयाँ बेरुजु थप भई ३० करोड २३ लाख ८२ हजार, भजनी नगरपालिकाको चार करोड तीन लाख ८१ हजार थप भई ३२ करोड ६७ लाख ११ हजार रुपैयाँ पुगेको छ । गौरीगङ्गा नगरपालिकाको बेरुजु तीन करोड ७९ लाख ८० हजार रुपैयाँ थप भई ३० करोड २२ लाख ४७ हजार रुपैयाँ पुगेको छ ।

यो जिल्लामा सबैभन्दा कम १२ करोड ४४ हजार रुपैयाँ बेरुजु जोशीपुर गाउँपालिकाको रहेको छ । यसैगरी, कैलारी गाउँपालिकाको बेरुजु १४ करोड ६५ लाख, मोहन्याल गाउँपालिकाको बेरुजु २० करोड ८९ लाख ४४ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, जानकी गाउँपालिकाको बेरुजु १९ करोड ४७ लाख ६६ हजार रुपैयाँ पुगेको प्रतिवेदनमा उल्लेख छ । चुरे गाउँपालिकाको बेरुजु १४ करोड १७ लाख ३९ हजार र बर्दगोरिया गाउँपालिकाको बेरुजु १७ करोड २३ लाख ८२ हजार रुपैयाँ पुगेको महालेखा परीक्षकको अन्तिम लेखापरीक्षण प्रतिवेदनमा उल्लेख छ ।

amazed