शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । शहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन ईकाई धनगढीले पहिलो चरणको काम सकिएसंगै बसपार्क टीकापुर नगरपालिकालाई हस्तान्तरण गरेको छ ।
बुधबार बसपार्ककै नवनिर्मित भवनमा आयोजित एक कार्यक्रमका बीच आयोजना कार्यान्वयन ईकाईका आयोजना प्रमुख परितोष कडरियाले आधिकारिक रुपमा बसपार्क हस्तान्तरण पत्रमा हस्ताक्षर गर्दै टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्र रावललाई हस्तान्तरण गरे भने प्रमुख रावलले पनि उक्त पत्रमा बुझिलिएको भन्दै हस्ताक्षर गर्दै खुशी व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नगरप्रमुख रावलले टीकापुरको विकासको लागि एउटा सम्पत्ति थपिएको भन्दै एउटा अभावसमेत पुर्ती भएको बताए । “लामो समयदेखि टीकापुरमा व्यवस्थित बसपार्कको अभाव रहदै आएको थियो, आजदेखि त्यो अभाव पूरा भएको छु,” रावलले भने, “यो हाम्रो आम्दानीको श्रोत पनि भएकाले टीकापुरको विकासका लागि एउटा अर्को सम्पत्ति थपिएको छ ।”
प्रमुख रावलले अब बसपार्क व्यवस्थापनको दायित्व नगरपालिकाको काँधमा रहेकोसमेत बताउदै नगरपालिकाले पनि बसपार्कको व्यवस्थापन र थप विकासका लागि काम गर्ने बताए ।
कार्यान्वयन ईकाईका आयोजना प्रमुख परितोष कडरियाले पहिलो चरणको काम सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिदै अझै धेरै काम गर्न बाँकी रहेको बताए । मलवारा दैनिकसँग कुरा गर्दै कडरियाले बजेटको अभाव नभए तीनदेखि चार चरणमा बसपार्कको सबै काम सकिने बताए । बोलपत्र प्रक्रियाबाट निर्माण कार्य खरिद गरि २०७५ माघ २ गते राजेन्द्र रोयल जेभीले ८ करोड ६ लाख ३५ हजार ७१७।९३ ९मूल्य अभिवृदी करबाहेक० मा निर्माणको ठेक्का पाएर काम अगाडी बढाएको हो । जसले पहिलो चरणअन्तर्गत ८७१.३८ वर्गमिटर प्लिन्थ एरिया भएको १ तले पक्की टर्मिनल भवन, भवन भित्रको इलेक्ट्रीकल र सेनेटरी कार्य र लामो दुरिका १७ सवारी, छोटो दुरिका ५० सवारी र ५० वटा मोटरसाइकल पार्किङ क्षमताको पार्किङ क्षेत्रको काम सकेको छ ।
बसपार्कमा अझै मुख्यतः पर्खाल निर्माण, गेट, प्रतिक्षालय, सार्वजनिक शौचालयको काम बाँकी रहेको प्रमुख कडरियाले जानकारी दिए । चालु आर्थिक वर्ष २०७७/०७८ मा दोश्रो चरणको कामका लागि सहरि विकास मन्त्रालयले तीन करोड बजेटसमेत छुट्याइएको छ । कडरियाले कार्यान्वयन ईकाईले नगरपालिकालाई पत्र पठाइसकेको र नगरपालिकाले प्राथमिकताका आधारमा कुन कुराको निर्माण गर्न सल्लाह दिन्छ त्यही अनुसार थप काम अगाडी बढाइने बताए । उनले एक वर्षभित्र बसपार्कभित्र निर्माण गरिएका कुराहरु केही बिग्रीए निर्माण कम्पनीले मर्मत गर्ने बताए ।
अब बसपार्कको व्यवस्थापनका लागि टीकापुर नगरपालिकाले आफ्नो काम अगाडी बढाउने नगरपालिकाका इन्जिनियर नवराज जोशीले जानकारी दिए । भवनभित्र रेष्टुरेन्ट, काउन्टर, यात्रुलाई बस्ने सुविधा लगायत धेरै कुराहरु रहेकाले अब टेन्डर आव्हान गर्न नगरपालिकाले निर्णय गर्ने र खुला प्रतिस्पर्धाबाट बसपार्कको जिम्मेवारी दिइने जोशीले बताए ।