शिशु मृत्युदर कायमै, तीन वर्षमा सत्तरी जनाको मृत्यु

शेयेर गर्नुहोस

बैतडी, फागुन २७ गते । बैतडीमा शिशु मृत्युदर कायमै रहेको पाइएको छ । स्वास्थ्य कार्यालय बैतडीको तथ्याङ्क अनुसार गएको तीन आर्थिक वर्षमा ७० जना नवजात शिशु र तीन जना प्रसूति महिलाको मृत्यु भएको छ । तथ्याङ्क अनुसार आव २०७८/७९ मा ४३ नवजात शिशु, आव २०७९/८० मा ११ जना, २०८०/८१ मा १३ जना र चालु आवको साउनदेखि माघ मसान्तसम्म तीन जना नवजात शिशुको मृत्यु भएको छ । योसँगै आव २०८०/८१ मा दुई जना प्रसूति महिला र चालु आव २०८१/८२ मा एक जना प्रसूति आमाको मृत्यु भएको स्वास्थ्य कार्यालय बैतडीका खोज सुपरभाइजर निरीक्षक हरिश भट्टले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “दिगो विकास लक्ष्य अन्तर्गत सन् २०३० सम्म मातृशिशु मृत्युदर शून्यमा झार्ने लक्ष्य भए पनि सो लक्ष्य हासिल गर्न चुनौती छ ।” उहाँका अनुसार आमा र शिशुको मृत्यु नरोकिनुका पछाडि स्वास्थ्य संस्था जान ढिलाइ, पुगिहाले पनि स्वास्थ्य सेवा पाउन ढिलाइ र तालिमप्राप्त दक्ष स्वास्थ्यकर्मी नहुनु मुख्य समस्या रहेका छन् । प्रसूति महिलाको रक्तचाप बढेर शरीर काम्दा देवीदेवताको पछाडि लाग्ने जस्ता अन्धविश्वास पनि रहेको उहाँले बताउनुभयो । बैतडीका १० स्थानीय तह र ८४ वडामा सुरक्षित प्रसूति सेवा दिन १५७ वटा प्रसूति केन्द्र रहेका छन् । यीमध्ये ११५ वटा स्वास्थ्य संस्थामा तालिमप्राप्त दक्ष जनशक्ति रहेको छ भने साबिकका ६८ वटा गाविसका तत्कालीन स्वास्थ्य चौकीमा अनमी, अहेव र औषधी उपकरणको व्यवस्था गरिएको छ । 

हटेन रूढिवादी परम्परा

स्वास्थ्य कार्यालय बैतडीका खोप सुपरभाइजर निरीक्षक हरिस भट्टका अनुसार पञ्चेश्वर गाउँपालिका र सिगास गाउँपालिकामा मृत्यु भएका दुई जना प्रसूति महिला धामीझाँक्रीलाई देखाइएको पाइएको छ । समाजमा अहिले पनि रूढिवादी परम्परा कायमै रहेकाले यस्ता कुरीति हटाउन स्थानीय तहले धामीझाँक्रीलाईसमेत सचेनामूलक तालिम दिन आवश्यक रहेको स्वास्थ्य कार्यालय बैतडीका निमित्त कार्यालय प्रमुख तीर्थराज भट्टले बतउनुभयो । 

ताजा खबर

कञ्चनपुरमा मतदानस्थलको स्थलगत निरीक्षण

एक करोड ४२ लाख आठ हजार थान मतपत्र छापियो

किसान सहकारीले शुरु गर्यो “पढ्दै कमाउँदै” कार्यक्रम

लागुऔषध तथा अवैध मदिरा नियन्त्रणमा कैलाली प्रहरीको सक्रियता

amazed