शेयेर गर्नुहोस
धनगढी । कैलालीको गोदावरी नगरपालिका- ४ बस्ने ममता लामिछाने । ‘घरमै बस्नु भन्दा केही काम गर्नु पर्छ भन्ने सोच्दै थिए २०७६ को कुरा हो’ उनले भनिन् ‘सिसा परियोजनाले अचारको तालिम दिँदै छ भन्ने कुरा सुने घरको कामको बेवास्ता गर्दै अचारको तालिम लिए ।’
तालिम पछि आफूले बुढीतोला क्षेत्रमा अचार उद्योग संचालन गर्दै आएको बताइन् । अहिले अचार उद्योग संचालन गरेको ५ बर्ष जति भएको र अन्नपूर्ण अर्गानिक घरेलु उत्पादन नामको फर्मबाट अचार उद्योग संचालन गरेको उनले बताइन् ।
अचार उद्योग संचालन पछि आफू आत्मनिर्भर भएको उनको भनाइ छ । डल्ले खुर्सानी,आँप,कागती,अमला, कोईराल,तामा ,लप्सी,लसुन,अदुवाको अचार आफ्नो उद्योगमा पाइने गरेको उनले बताइन् ।
‘तामाको अचार प्रतिकोलो रु ४०० पर्छ’ उनले भनिन् ‘अन्य अचार प्रतिकिलो ५०० का दरले बेच्ने गरेकी छु ।’ महिनामा ८० हजार जति कारोबार हुने र सबै खर्च कटाएर मासिक ४० हजार बचत हुने गरेको उनको भनाइ छ ।
उनले भनिन ‘४ जनाको परिवार छ । दुई छोरा छन् । कान्छो छोरा व्याचुलरमा पढ्दै छ जेठो बिदेश जाने तयारीका लागि काठमाडौ गएको छ ।’ उनीहरुको पढाइलेखाइ र घरखर्च सहजरुपमा चलिरहेको उनी बताउँछन् । पहिलाको भन्दा अहिले जीवनयापन सहज चलिरहेको उनले बताइन् ।
अचार उधोगमा ४ जना कर्मचारी रहेको र माग अनुसार अचार उत्पादन भइरहेको उनले बताइन् । उनले भनिन ‘३ रोपनी आफ्नै जग्गामा अदुवा ,खुर्सानी उत्पादन गर्ने गरेको छु । अपुग भएको किनेर ल्याउने गरेकी छु ।’ यहाँ उत्पादित अचार पहाड क्षेत्रमा जाने तथा केही उद्योगमै आएर लैजाने गरेको उनले बताइन् । उनले भनिन ‘तराइतिर पनि जान्छ तर उता पठाउने गरेको त छैन । मानिसहरु उद्योगमै आएर लैजाने गर्दछन् । खपत भइहाल्छ बजारीकरणको समस्या छैन ।’ एकै दिन एकसय डिब्बा अचार पनि बिक्री हुने गरेको उनको भनाइ छ । साथै दाल,चामल पनि बिक्री गर्ने गरेको उनले बताइन् । जुम्लीसेमी,बझाङको राज्मा,चना ,लोकल मसुरो,बासमती चामल,रातो मार्सी चामल पनि उद्योगमा उपलब्ध रहेको उनले बताइन् ।
दाल प्रतिकिलो रु २५० ,जुम्ली सीमी ३०० र बझाङको राज्मा प्रतिकिलो रु २८० मा बिक्री गर्ने गरिएको उनले बताइन् । ‘राज्यबाट त्यस्तो सहयोग केही पनि छैन’ उनले भनिन् ‘अनुदानका कुरा त सुन्छु । कसरी माग गर्नु पर्छ थाहा छैन् । एक चोटी फाराम भरेको त थिए तर अनुदान पाएन ।’
