शेयेर गर्नुहोस
टीकापुर । कैलालीका सीमानाकाहरुमा प्रहरीले कडार्ई गरेको छ । भीडभाडलाई मध्यनजर गर्दै कैलाली प्रहरीले सीमानाकामा कडाइ गरेको हो ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सीमा क्षेत्रमा हुनसक्ने विस्फोटक पदार्थ र लागुऔषधको ओसारपसारलाई मध्यनजर गर्दै चेकजाँचमा कडाइ गरिएको हो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको कुकुर शाखासँगको समन्वयमा सीमा नाकासहित बढी भिडभाड हुने क्षेत्रमा चेकजाँचमा तालिम प्राप्त कुकुरको समेत प्रयोग गरिएको छ ।
भीडभाडका समयमा विभिन्न घटनाहरु घट्न सक्ने भएकाले चेकजाँचमा कडाइ गरिएको प्रहरीले जनाएको छ ।
कैलाली जिल्लाभर १ हजार १ सय बढी प्रहरी परिचालन गरिएको जनाइएको छ । सीमा नाका, बसपार्कलगायतका क्षेत्रमा यात्रुलाई मध्यनजर गर्दै नागरिक सहायता कक्षसमेत स्थापना गरिएको छ ।
रोजगारीको सिलसिलामा भारत गएकाहरू दशै मनाउन घर फर्किने भएकाले सीमा नाकाहरूमा चहलपहल बढेको देखिन्छ । कैलालीका बिभिन्न ठाउँहरुमा लागुऔषधमा संलग्न बढीरहेपछि प्रहरीले यसतर्फ पनि बढी ध्यान दिनुपर्ने स्थानीय वासिन्दा बताउछन ।