नागरिक वडापत्रमा टीकापुर नगरपालिकाको लापरबाही

शेयेर गर्नुहोस

यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर नगरपालिका कार्यालयमा राखिएको नागरिक वडापत्र सेवाग्राहीले नदेखिने गरि गमलाले छेकिएको छ । कार्यालय भवनको प्रवेश ढोकाको यताउता दुई छेउमा राखिएका नागरिक वडापत्र गमलाका बोटबिरुवाले छेकिएर नदेखिने भएको हो ।

कानुन अनुसार नागरिक वडापत्र सरकारी निकायमा आउने सेवाग्राहीले स्पष्ट देख्ने स्थानमा राख्नुपर्ने बाध्यकारी व्यवस्था छ । तर टीकापुर नगरपालिकाको प्रिन्टेड नागरिक वडापत्र गमलाले छेकिएको छ । कानुनतस् वडापत्र ७ मिटरको दुरीमा २ इन्च चौडा अक्षरले लेखिएको हुनुपर्छ । तर नगरपालिकाले राखेको वडापत्रमा यो पनि मेल खादैन ।

नागरिक समाज टीकापुरका अध्यक्ष भीमराम चपाईंले नगरपालिकाले राखेको वडापत्रमै समस्या भएको बताए । उनले सेवाग्राही नगरपालिका छिर्ना साथ वडापत्र देख्नुपर्नेमा यसो नभएको बताउदै अहिले गमलाका बोटबिरुवाले छेकिएकोले पढ्न पनि नसकिने अवस्था रहेको बताए । उनले यसमा नगरपालिका प्रशासनको कमजोरी देखिएकोसमेत दाबी गरे । जिम्मेवारी बहन नगर्दा दण्डित नहुने थितिले यस्तो भएको भन्दै यसमा देखिएको कमजोरीले नगरपालिकाको सेवा सुविधा पनि चुस्त दुरुस्त नरहेको प्रष्ट भएको बताए ।

“नागरिक वडापत्र सरकारी निकायमा सेवाग्राही छिर्नासाथ देखिने गरि राख्नुपर्छ जसले हरेक सेवाग्राहीले आफुले त्यहाँबाट पाउने सेवा, लाग्ने समय र दस्तुर, कुन शाखाबाट पाइने भन्ने उल्लेख हुन्छ,” नागरिक अगुवा चपाईंले भनें, “टीकापुर नगरपालिका कार्यालयले राखेको वडापत्र गमलाले छेकेको रहेछ, यसमा नगरपालिका प्रशासनको कमजोरी रहेको छ । यसले नगरपालिकाले दिने सेवा सुविधा चुस्त दुरुस्त नभएको प्रष्ट हुन्छ ।”

उनले हरेक काम गर्न पैसा नै लाग्ने भन्ने नभएको बताए । साना तिना यस्ता काम गर्न इच्छाशक्ति मात्र भएको पुग्ने भन्दै चपाईंले काम गर्ने जागर नै नभए सुधार हुनेमा आशा राख्न नसकिने धारणा व्यक्त गरे । भ्रष्टाचार विरोधी अभियन्तासमेत रहेका चपाईंले वडापत्र संगै हरेक सरकारी निकायमा राखिने म भ्रष्टाचार गर्दिन भन्ने बोर्ड पनि गमलाले छेकेर राखेको प्रती असन्तुष्टि जनाए । उनले सञ्चारमाध्यमले यस्ता विषय उठान गर्नुपर्ने भन्दै नागरिक समाजको पनि ध्यानाकर्षण भएको बताए । चपाईँले नागरिक समाजको तर्फबाट नगरपालिकालाई ध्यानाकर्षण गराउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

नगरपालिकाले राखेको नागरिक वडापत्रका विषयमा राष्ट्रिय मानवअधिकार आयोगको एक कार्यक्रमका बीच अधिकारकर्मीले समेत असन्तुष्टि जनाएका थिए । नागरिकले वडापत्र देख्न पाउनुपर्ने तर यहाँ गमलाले छेकिएको भन्दै अधिकारकर्मी मधु दवाडीले टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दमन सिंह चौधरीसहित कर्मचारीहरु उपस्थित कार्यक्रममा ध्यानाकर्षणसमेत गराएका थिए । उनले नागरिक वडापत्र भंगेरा जत्रो अक्षरले लेखिनुपर्ने भन्दै अक्षर पनि निकै सानो भएकोमा नगरपालिकाले ध्यान दिन सुझाएका थिए ।

तर पनि नगरपालिकाले यसमा ध्यान नदिएको देखिएको छ । प्रमुख प्रशासकीय अधिकृत चौधरीले अधिकारकर्मीको सुझावलाई लत्याएको प्रष्ट हुन्छ । कार्यक्रम सकिएको एक हप्ताभन्दा बढी भइसक्दा पनि अहिलेसम्म गमला पनि नहटाइनुले नगरपालिका यसमा लापरबाह भएको बुझिन्छ ।

तर टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चौधरीले आफू नयाँ जिम्मेवारीमा आएकाले व्यस्तताका कारण ध्यानमा भए पनि कार्यान्वयन गर्न नसकिएको बताए । उनले नागरिकको सुविधाका लागि वडापत्र राख्नैपर्ने बाध्यकारी व्यवस्था रहेकोमा नगरपालिकाको प्रशासनले नै राख्नुपर्ने बताउदै विगतमा बनाएको वडापत्र पानी, घाम, शितले खुइलिएर कार्यालयमै राखिएको बताए । डिजिटल सिस्टममा राख्ने कि भन्ने विषयमा छलफल भइरहेको बताउदै उनले बजेट व्यवस्थापन गरेर नयाँ आवदेखि डिजिटल सिस्टममै राखिने बताए ।

“म नयाँ जिम्मेवारीमा भएकाले व्यस्तताका कारण अधिकारकर्मीको कुरा ध्यानमा भए पनि कार्यान्वयन हुन सकेको थिएन । राख्न त नगरपालिकाको प्रशासनले नै राख्नुपर्ने हो तर विगतमा बनाएको वडापत्र खुइलिएर कार्यालयले मै छ,” प्रमुख प्रशासकीय अधिकृत चौधरीले भने,“अहिले डिजिटल सिस्टम छ त्यसैले त्यही सिस्टममा राख्ने कि भन्ने छलफल भइरहेको छ । बजेट विनियोजन गरेर नयाँ आव देखि डिजिटल सिस्टममा देखिने गरि वडापत्र राख्छौं ।”

उनले ढिलो भए पनि राम्रो गरौं भन्ने सोच भएको बताए । यो विषयमा ध्यानाकर्षण भएको भन्दै एक हप्तामा अर्को राखिने प्रमुख प्रशासकीय अधिकृत चौधरीले दाबी गर्दै नयाँ आवदेखि भने नयाँ राख्ने बताए ।

सुशासन (सञ्चालन तथा व्यवस्थापन) ऐन, २०६४ ले सबै सरकारी निकायहरुमा सबैले देख्ने ठाउँमा नागरिक वडापत्र राख्नुपर्ने कानुनी व्यवस्था गरेको छ । यसको प्रभावकारी कार्यान्वयनका लागि सुशासन (सञ्चालन तथा व्यवस्थापन) नियमावली, २०६५ समेत ल्याइएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *