शेयेर गर्नुहोस
टीकापुर । कैलालीको टीकापुरमा बाघको आतंक बढेको छ । टीकापुर नगरपालिकाको पुर्वी क्षेत्रमा कर्णाली नदीसँगै बर्दिया राष्ट्रिय निकुञ्ज जोडिएकाले बाघको आतंक बढेको हो ।
बाघले शनिबार मध्यराती टीकापुर नगरपालिका-७ धामिटोलमा बच्चा पाउने एक बाख्रालाई मारेको घटनाले बाघको आतंक बढ्दै गएको भन्दै स्थानीय त्रसित बनेका छन् । धामिटोलका योगेन्द्र जैशीको गोठमा बाघले आक्रमण गरेर ब्याउने बाख्रा मारेको सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष जितराम चौधरीले जानकारी दिए ।
उनले बाघ सत्ती कर्णाली सामुदायिक वनको क्षेत्र भित्रै रहेको बताउदै पछिल्लो समय कुकुर, बंगुर, भैंसीको पाडा मारिरहेको बताए । अध्यक्ष चौधरीका अनुसार केही दिन अगाडी मात्र भैंसीको पाडा मारेको बाघले दुई महिना अगाडी बंगुरका पाठा लिएर गएको थियो ।
गत हिउँददेखि आइरहेको बाघ उक्त क्षेत्रमा पल्किसकेको उनले बताए । अध्यक्ष चौधरीले यस विषयमा बर्दिया राष्ट्रिय निकुञ्जमा पहिले नै खबर गरिसकेकोमा कुनै सुनुवाइ नभएको जानकारी दिए ।
बाघको आतंक बढ्न थालेपछि विभिन्न ठाउँमा बत्ती जडान गर्ने, वनका झाडी सफा गर्ने काम गरिएको बताउदै उनले बेतका ससाना टुक्रे झाडी सफा गरेर पिकनिक स्थल बनाउने योजना भएको बताए । वनको विभिन्न नियमहरु हुने भएकाले प्रावधान के कस्तो छ भन्ने बुझेर अगाडी बढाइने भन्दै यसले झाडीहरु नभएपछी बाघको आतंक त्यति नहुने बताए ।















