शेयेर गर्नुहोस
धनगढी । सुदूरपश्चिम प्रदेश सभाको बैठकमा नाराबाजी भएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले बिहिवार बिहान १०ः१५ बजे विश्वसको मत लिनका लागि बोलाइएको बैठकमा प्रतिपक्षमा रहेका दलहरुले नाराबाजी गरेका हुन् ।
दोस्रो प्रदेश सभाको तेस्रो अधिवेशनको १०औँ बैठक नेपाली काँग्रेस र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूले बैठक अवरुध पारेका हुन् । उनीहरूले सभामुख भीमबहादुर भण्डारीले बैठक सुरुगरेपछि विरोध गरेका थिए । सभामुख भण्डारीले मुख्यमन्त्री सोडारीलाई विश्वासको मतका लागि बैठक आह्वान गरिएको बताएका थिए । तर, प्रदेश सभा सदस्यहरूले नमानेपछि आधा घण्टाका लागि बैठक स्थगित गरिएको हो । उनीहरूले मुख्यमन्त्री नियुक्तीमा प्रदेश प्रमुखको व्ययभार असंवैधानिक भएको बताएका छन् ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका सोडारी वैशाख ६ गते संविधानको धारा १६८ को उपधारा २ बमोजिम सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए । यसरी नियुक्त भएका मुख्यमन्त्रीले एक महिनाभित्रै प्रदेश सभाबाट विश्वासको मत लिनु पर्ने कानुनी प्रावधान रहेको छ । सोडारी नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी, स्वतन्त्र प्रदेश सभा सदस्य लगायतको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।
मुख्यमन्त्रीले यसअघि वैशाख २० र २१ गते गरी दुई पटक विश्वासको मत लिने प्रयास गरेका थिए । तर, तत्कालीन समयमा एमालेले विश्वासको मत दिन नसक्ने भनेपछि स्थगित गरिएको थियो । एमाले संसदीय दलले सरकारमा नजाने तर, मुख्यमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा बहुमत पुर्याउनका लागि २७ जना प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्ने गर्दछ । गठबन्धन दल एमालेका ११, माओवादीका १०, नागरिक उन्मुक्ति पार्टीका सात र मुख्यमन्त्रीको आफ्नै पार्टी एकीकृत समाजवादीका चार जना प्रदेश सभा सदस्य छन् ।
यसै गरी, एक स्वतन्त्र प्रदेश सभा सदस्यको पनि मुख्यमन्त्रीलाई समर्थन गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका सात जना प्रदेश सभा सदस्य रहे पनि पार्टी अध्यक्ष पक्षधर भनिएका दुई जना प्रदेश सभा सदस्यको मात्रै मुख्यमन्त्रीलाई समर्थन रहेको देखिन्छ । मुख्यमन्त्रीलाई समर्थन गर्ने दुवै जना मन्त्री नियुक्त भएका छन् ।















