शेयेर गर्नुहोस
टीकापुर । कैलालीको जानकी गाउँपालिकामा तीन दिने बृहत कृषि मेला सुरु भएको छ । अमेरिकी नियोग (USAID-Nepal) को आर्थिक सहयोग तथा अन्तर्राष्ट्रिय मकै तथा गहुँवाली सुधार केन्द्र (सिमिट) र कृषि उद्यम केन्द्रको समन्वयमा गाउँपालिकामा बृहत कृषि मेला सुरु भएको हो ।
मेला बारे पत्रकारलाई जानकारी दिँदै जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरीले बृहत कृषि मेलाले किसानलाई कृषि सम्बन्धी नयाँ प्रविधिसँग जोड्न सहयोग गर्ने बताए । मेलामा निशुल्क माटो परिक्षण गरिदिने, बजारीकरण गरिदिने, नयाँ यन्त्रको प्रयोग बारे जानकारी गराइने अध्यक्ष चौधरीको भनाई छ । ५० स्टल रहने मेलामा गाउँपालिकाका नागरिकले निशुल्क अवलोकन गर्न पाउने व्यवस्थाका साथै गाउँपालिकाका नागरिकलाई मेला अवलोकन गर्न ल्याउनका लागि दुईवटा बस विभिन्न रुटमा दिनभरि पठाउने सुविधासमेत रहेको उनले बताए ।
अध्यक्ष चौधरीले कृषि मेलामा कृषि विज्ञहरुले किसानलाई धेरै कुराहरु सिकाउने वातावरण पनि बनाइने बताए । गाउँपालिका र सिमिटका कृषि प्राविधिकसँग पनि किसानले आफुलाई जान्न मन लागेको कुराहरु सोधेर सिक्न सकिने उनले बताए ।
बजारीकरणको सन्दर्भमा विभिन्न उत्पादित वस्तुलाई किसानले कति सामान कहाँ लगेर खपत गर्ने भन्ने विषयमा मेलामा तपाईहरु उत्पादन गर्नुहोस् हामी किन्दिन्छौं भन्ने बजारसँग सम्बन्धित मान्छे पनि मेला सहभागी हुने भएकाले सहज हुने अध्यक्ष चौधरीको भनाई छ ।
शनिबारसम्म हुने मेलामा १५ हजार बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।















