शेयेर गर्नुहोस
टीकापुर । टीकापुर नगरपालिकाले ८५ करोडको बजेट ल्याएको छ । नगरपालिकाको १५ औं नगर सभा अधिवेशनले आगामी आर्थिक वर्ष २०८१÷८२ को नीति तथा कार्यक्रमसहित आगामी वर्षका लागि ८५ करोड ४४ लाख १० हजारको अनुमानित बजेट ल्याएको हो ।
जसमा संघीय अनुदान तर्फ वित्तीय समानीकरणबाट १८ करोड ६२ लाख, ससर्त अनुदान चालुतर्फ ३१ करोड ८ लाख, पुँजीगततर्फ दुई करोड १४ लाख, राजस्व बाँडफाँडबाट १४ करोड ९२ लाख २३ हजार र विशेष अनुदानबाट तीन करोड अनुमान गरिएको छ ।
त्यसैगरी सुदुरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणबाट एक करोड ७९ लाख ९९ हजार, राजस्व बाँडफाँडबाट ९७ लाख ४६ हजार, समपुरकबाट ७५ लाख, विशेष अनुदानबाट ४० लाख र ससर्त अनुदानबाट ३८ लाख ८५ हजार अनुमान गरिएको छ । नगरपालिकाले आन्तरिक स्रोतमा आन्तरिक आयतर्फ ७ करोड ५३ लाख दुई हजार, मालपोत रजिस्ट्रेशनबाट तीन करोड ७५ लाख, वन रोयल्टीबाट ७ लाख ७६ हजार गरी रकम अनुमान गरिएको छ ।















