शेयेर गर्नुहोस
यज्ञराज उपाध्याय, टीकापुर । टीकापुर नगरपालिका वडा नम्बर ७ मा लागुऔषध सेवन र ओसारपसारमा संलग्न एकजना किशोरलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार दिउँसो ४ बजे वडा नम्बर ७ कालाकुण्डास्थित सडकमा हिडिरहेको बेला सोही वडाको बैदी बस्ने तेज बुढाका १९ वर्षीय छोरा रोशन बुढामाथि शंकाको आधारमा प्रहरीको गस्ती टोलिले चेकजाँच गर्दा लागुऔषध अन्तर्गतको १ सय ४८ थान ट्याब्लेट नाइट्रोभेट बरामद गरेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) अरुण बमले जानकारी दिए ।
इन्स्पेक्टर बमका अनुसार भारतको तिकुनियाका जगदिश कुमारले कालाकुण्डा घाटसम्म पुर्याइदिएको उक्त ट्याब्लेट दुई हजार पाँच सयमा किनेको बुढाले प्रहरीलाई अनुसन्धानका क्रममा बताएका हुन् ।
लागुऔषधसहित पक्राउ परेका बुढालाई आज ईलाका प्रहरी कार्यालय टीकापुरमै राखिएको र भोलि जिल्ला अदालत कैलालीबाट म्याद थप गर्नका लागि धनगढी लगिने उनले जानकारी दिए । उनलाई लागुऔषध कारोबार अन्तर्गत मुद्दा चलाइने इन्स्पेक्टर बमले बताए ।