विश्वमै दुर्लभ सुन गिद्धको गुँड कञ्चनपुरमा

शेयेर गर्नुहोस

महेन्द्रनगर । लोपोन्मुख पन्छी सुन गिद्धको गुँड पछिल्लो पटक कञ्चनपुर जिल्लामा फेला परेको छ ।

सुन गिद्धको गुँड समुद्री सतहबाट १ हजार १९ मिटरदेखि १ हजार ५ सय १९ मिटरसम्मको उचाइमा देखिने गरेकोमा हालै कञ्चनपुर जिल्लामा भेटिएको गुँड १ सय ७६ मिटरमै रहेको नेपाल पन्छी संरक्षण संघका गिद्ध विज्ञ कृष्ण भुसालले जानकारी दिए ।

सुन गिद्ध नेपालमा पाइने रैथाने गिद्ध हो । नेपालमा पाइने नौ प्रजातीका गिद्धमध्ये छ प्रजाती रैथाने हुन् जसले नेपालमा गुँड बनाएर बच्चा कोरल्छन् । बाँकी तीन प्रजाती जाडो याममा बसाइँसराइँ गरी आउँछन् ।

विश्वमै दुर्लभ अति संकटापन्न अवस्थामा रहेको यस गिद्धको नेपालमा अनुमानित संख्या २ सयदेखि ४ सयको हाराहारीमा छ । नेपाल पन्छी संरक्षण संघले हालसम्म यसका १६ गुँडहरु फेला पारेको जनाएको छ । पश्चिम नेपालको मध्य पहाडमा रूखमा गुँड बनाउने यस चराको गुँड पहिलो पटक आधिकारीक रुपमा सन् २०१२ मा पाल्पा जिल्लामा भेटिएको थियो ।

हालसम्म सुन गिद्धको गुँड कञ्चनपुर, जाजरकोट, अर्घाखाँची, पाल्पा, कास्की, तनहुँ र लमजुङमा अभिलेख गरिएको छ । अनुसन्धानलाई व्यापक बनाउँदै गएमा आगामी दिनमा अन्य जिल्लाहरुमा समेत सुन गिद्धका गुँडहरु फेला पर्नसक्ने भुसालको भनाइ छ ।

नेपालमा सन् १९९० को दशकमा करिब १० लाखको संख्यामा पाइने अनुमान गरिएको गिद्धको संख्या हाल आएर २० हजारभन्दा कममा सीमित भएको बताइन्छ । गिद्धको संख्यामा यसरी नाटकीय ढंगले ह्रास आउनुको प्रमुख कारण घरपालुवा पशु उपचारमा प्रयोग गरिने औषधि डाइक्लोफेनेक हो ।

सुन्निएको र दुखेको निको पार्न प्रयोग गरिने डाइक्लोफेनेकले उपचार गरिएका पशुको मृत्यु पश्चात सिनो खाँदा गिद्धको मृगौलामा असर गर्ने मृत्यु हुने जानकारहरु बताउँछन् । वासस्थानको विनाश, आहाराको कमी, सिनोमा विषकोे प्रयोग, गिद्धलाई हानी गर्ने अन्य पीडानाशक औषधिहरु र विद्युतीय तार गिद्धका लागि चुनौती हुन् ।

गिद्ध संरक्षणका लागि नेपाल सरकारले २०६३ जेठ २३ देखि पशु उपचारमा डाइक्लोफेनेक प्रतिवन्ध गरी त्यसको विकल्पमा सुरक्षित मेलोक्सिक्यामको उत्पादन र प्रयोग शुरु गरेको छ । गिद्धलाई शुद्ध आहार उपलब्ध गराई संरक्षण गर्ने उद्देश्यले जटायु ९गिद्ध० रेष्टुरेन्टहरु सञ्चालन पनि गरिएको छ । त्यसैगरी गिद्ध संरक्षण तथा प्रजनन केन्द्रमा हुर्काइएका र कोरलिएका गिद्धलाई सुरक्षित प्राकृतिक वातावरणमा पुनःस्थापना गराउने, स्याटेलाइट जडान गरी अध्ययन गर्ने कार्यको थालनी पनि भएको छ ।

ताजा खबर

कैलाली र बाँकेमा बसको ठक्करबाट पैदल यात्रीको मृत्यु

दार्चुलामा अरिङ्गालको टोकाइबाट वृद्धको मृत्यु

कोप–२८ सम्मेलनमा भाग लिन प्रधानमन्त्री दाहाल आज यूएई जाने

कैलालीबाट १६ वर्षीय बालक बेपत्ता

नेपाल भारत मैत्री सांस्कृतिक संगमको लोगो सार्वजनिक

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *