शेयेर गर्नुहोस
छबिलाल जैसी ।
टीकापुर । कैलालीको टीकापुरमा कालिकादेवि मन्दिरको शिलान्यास गरिएको छ । टीकापुर नगरपालिका वडा नं. १ सिटी बसपार्क नजिक निर्माण हुन लागेको कालिकादेवि मन्दिरको टीकापुर नगरपालिकाका उपप्रमुख केशरी विष्ट रावल र वडा नं. १ का वडाध्यक्ष गंगाराम आचार्यले शिलान्यास गर्नुभएको हो ।

पाण्डेय परिवार जागरण एकता समाजले निर्माण गर्न लागेको सो मन्दिरको स्वस्थानी ब्रत आरम्भ पूर्णिमाको शुभ दिन पारेर शिलान्यास गरिएको हो ।
समाजका अध्यक्ष लक्ष्मी प्रसाद पाण्डेयको सभापतित्वमा भएको शिलान्यास कार्याक्रममा प्रमुख अतिथिको रहनुभएका उपप्रमुख रावलले टीकापुरलाई धार्मिक प्रर्यटन क्षेत्रको रुपमा विकास गर्न कालिका माता शक्ति पीठको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
टीकापुर ७ सत्ति स्थित पद्म प्रकाशेश्वर महादेव मन्दिर र टीकापुरको कैलाशेश्वर शिवमन्दिरलाई मुख्य धार्मिक पर्यटन क्षेत्रको रुपमा विकास गर्न पुरातत्व विभाग ले काम अगाडि बढाइ सकेको समेत उहाँले बताउनुभयो । टीकापुरमा मन्दिर बनाएर बेवारिसे रुपमा छाड्ने गरेकोमा आलोचना हुने गरेको भन्दै रावलले मन्दिरहरुमा नियमित रुपमा धार्मिक परम्परा अनुसार हत्याहिंसा नगरिकन पूजा गर्न आवश्यक हुनेमा जोड दिनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि वडाध्यक्ष आचार्यले मानिसहरु जुन ठाउँमा बसोबास गर्छन् सो ठाउँमा नै आफुले पुज्ने देवी देवताहरु साथमा आउने भएकोले सामाजिक परम्परा अनुसार पूजा अर्चनाको लागि मन्दिर निर्माणको कार्यमा वडा कार्यालयले सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
समाजका वरिष्ठ सल्लाहकार देवि लाल पाण्डेयले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन खडक लाल पाण्डेयले गर्नुभएको थियो ।