शेयेर गर्नुहोस
अत्तरिया । नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका केन्द्रीय सदस्य ओमप्रकाश पुनले नेपालमा नयाँ राजनीतिक कोर्ष अगाडि बढेको बताएका छन्।
सरकार र सो नेकपाबीच भएको सम्झौतापछि कैलाली कारागारबाट आज रिहा भएका नेता पुनले नेपालमा अब नयाँ राजनीतिक कोर्ष अगाडि बढेको प्रतिक्रिया दिएका छन् ।
सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिदै पुनले भने, “संघीय गन्तन्त्रको ठाउँ अब वैज्ञानिक समाजवादले लिएको छ। अब नयाँ राजनीतिक कोर्ष अगाडि बढ्यो।”
सो नेकपाको पूर्व सेतीमहाकाली ब्यूरो इन्चार्ज समेत रहेका पुनले वर्तमान राजनीतिमा केपी ओलीको कदम पश्चगामी कदम भएको बताएका छन् ।
तपाईहरुको एकिकृत जनक्रान्ति अभियान कसरी अगाडि बढ्छ ? भन्ने जिज्ञासामा उनले थपे, “हाम्रो राजनीतिक एजेन्डा परिवर्तन भएको छैन। निरन्तर जारी रहन्छ। केपी ओलीले संसद विघटन गर्नु पूर्व पनि हाम्रो संवाद जारी थियो। विघटनपछि पनि जारी थियो। हामीले संसद पुनस्थापनालाई पनि प्रगतिशिल भनेका छैनौ। संसद विघटन पनि प्रतिगमनभित्रको प्रतिगमन हो।”
नेता पुनलाई गत साउन २६ गतेदेखि जिल्ला कारागार कैलालीमा राखिएको थियो। उनी विरुद्ध हातहतियार सम्बन्धी मुद्दा चलाइएको थियो ।
नेता पुन सँगै सेतीमहाकाली ब्यूरो सदस्य विवेक कुमाल पनि रिहा भएका छन् । संगठित अपराध मुद्दा लगाइएका कुमाललाई ललितपुरबाट फागुुन १४ गते कैलाली ल्याइएको थियो। उनीहरु जनही ५०÷५० हजार धरौटी बुझाएर रिहा भएका हुन्।