शेयेर गर्नुहोस
गणेश चौधरी
टीकापुर । निषेधाज्ञाम चोरी शिकारी बढेको छ । कैलालीको बर्का बन्वा (बसन्ता बन क्षेत्र) मा चोरी शिकारी बढेको हो ।
चरा तथा खरायो, बदेल, चित्तल लगायतका साना जनावरको चोरी शिकारी बढेको संरक्षणकर्मीले बताएका छन् ।
अहिलेको निषेधाज्ञाको समयमा शिकारीहरु निकै सक्रिय भएको पाइएको संरक्षणकर्मी हिरुलाल डगौराले बताए । उनले भने, ‘सबै मान्छे कोरोनाको डरले घरमा बसेका छन् । कोही भने चोरी शिकारीमा सक्रिय भएका छन् ।’
हिरुलालका अनुसार बसन्ता बन क्षेत्र घोडाघोडी ताल क्षेत्रमा चोरी शिकारी बढेको पाइएको छ ।
कैलालीको इलाका बन कार्यालय पछमुरियाका सहायक बन अधिकृत विश्वराज पण्डितले बन क्षेत्रमा चोरी शिकार गरेका प्रशूत निशानी भेटिने गरेका बताए ।
उनले भने,‘जनावरका विभिन्न अंग तथा चरा मार्नका लागि रुखहरु नै ढालेको पाइएको छ ।
चोरी शिकार गरेका प्रशस्त छापहरु भेटिएपनि मान्छे भने समात्न नसकिएको पण्डितले बताए । उनले भने,गस्ती गरेकै छौ । तर यो बन क्षेत्र पनि ठुलो छ । कताबाट पस्छन् । पत्तै लाउन सकिन्न ।’
बसन्ता बन क्षेत्रको पश्चिममा कैलारी गाउपालिका, पुर्वमा भजनी नगरपालिका, दक्षिणमा भारत र उत्तरमा घोडाघोडी नगरपालिका रहेको छ ।
लकडाउनमा गाउका मान्छेको काम पनि खासै नभएको र घरमा बस्न भन्दा जंगलमा शिकार खेल्न पस्छन् कि भन्ने आफुहरुको अनुमान रहेको सहायक बन अधिकृत पण्डितले बताए ।
उनले भने,‘मान्छेहरु प्रमाणसहित भेटिदैन । प्रमाणसहित नभेटाएसम्म कसरी केरकार गर्न सकिने कुरा भएन । नियन्त्रणका लागि स्थानीय सामुदायिक बनका पदाधिकारीलाई पनि भनेका छौं ।’
बनमा भेटिएका जुनसुकै जनावर पनि खाने गरेका उनले बताए । उनले भने,‘गोहोरो पनि मारेर खाएको भेटियो । गोहोराका पंजा भने जंगलमै फालेका अवस्थामा भेटियो ।’
अहिलेको लकडाउनमा गाउघर बाहिर रहेकाहरु पनि घरमा आएका र घरमा रहेकाहरुको काम पनि नभएकोले उनीहरु जंगलमा गएर चोरी शिकार गरेका हुन सक्ने पण्डितले बताए ।
संरक्षणकर्मी हिरुलाल डगौराले घोडाघोडी ताल क्षेत्रमा पनि चरा तथा माछाको चोरी शिकारी बढेको बताए । उनले भने, लकडाउमा सबै घरमा बस्छौं । चोरी शिकारी वाल दिउसै जंगल पस्छन् ।’
तस्वीर–विश्वराज पण्डित । (सहायक बन अधिकृत पछमुरिया कैलाली)