शेयेर गर्नुहोस
टीकापुर । कैलालीको गौरीगंगा नगरपालिकामा गरिएको तालाबन्दी आज पनि यथावत छ । पाँच दलीय गठबन्धन नगरपालिकालाई बुझाएको ६ बुँदे मागको बेवास्ता गरेको भन्दै मंगलबार पनि तालाबन्दी गरेका हुन् । नदीजन्य पदार्थ बिक्रीबाट भएको आम्दानीको हिसाब माग, विद्यालयमा विषयगत शिक्षक पदपूर्ति गर्ने, नगरपालिकाको बेरुजु फर्चौट गर्नुपर्ने लगायतका ६ बुँदे माग राखेका छन् ।
राजनीति दलहरूले आर्थिक पारदर्शिताको माग सहित बुझाएको ज्ञापनपत्र नगर प्रमुख भिम बहादुर देउवाले बेवास्ता गरिरहेको नेपाली काङ्ग्रेसका क्षेत्रिय सभापति दिनेश राज जोशीले बताए । ६ बुदे मागको नगरपालिकाबाट आधिकारिक रुपमा सम्बोधन गर्ने प्रतिबद्धता सहित छलफलको प्रक्रिया नहुदा सम्म तालाबन्दी यथावत रहने जोशीले बताए ।
सोमबार देखि तालाबन्दी गरिएको भए पनि तालाबन्दी खोल्ने र समस्या समाधान गर्न नगरबाट पहल नभएको राजनीतिक दकका प्रतिनिधिहरुले बताएका छन् । हाम्रो नगरपालिकासँग आम जनसरोकारकाको बिषयमा प्रत्यक्ष देखिएका अनियमितता रोक्न र बास्तबिकता जनता समक्ष पु¥याउन गरिएको मागमा नगर प्रमुखको उदासीनता रहेकोले ठोस प्रतिबद्धता सहितको वार्ता नभए सम्म तालाबन्दी नखोल्ने माओवादी केन्द्रका नेता देवि दत्त कडेल बताएका छन् । नगरप्रमुखले बेवास्ता गरिरहेकाले मागको सुनुवाइ तथा दलीय सहमति नहुँदा सम्म तालाबन्दी नखोल्ने समेत बताएका छन् ।
नगर प्रमुख भिम बहादुर देउवाले भने वार्ताको प्रयास गरिएको छलफल गरि नगरपालिकाको काम सुचारु गर्नेमा गम्भीर रहेको बताएका छन् । दलहरुलाई छलफलको लागि औपचारिक आवाहान गर्न आफू तयार रहेको र आज दिनभरिमा समस्याको समाधान हुने बताएका छन् ।