महामारीका क्रममा बढ्यो चेलीबेटी ओसारपसार

शेयेर गर्नुहोस

धनगढी । कोरोना महामारीका कारण नेपाल–भारत नाका सहज नरहेको अवस्थामा पनि नेपालबाट भारततिर चेलीबेटी ओसारपसार बढेको छ ।
महामारीका क्रममा युवती वा महिलाका नजिकका आफन्त, ब्वाइफ्रेण्डबाट भारततिर ओसारपसार भइरहेको पाइएको माइती नेपाल धनगढीले जानकारी दिएको छ । सो कार्यालयका अनुसार कोरोना महामारीका क्रममा उत्पन्न बेरोजगारी समस्या, आर्थिक अभाव जस्ता कारणले दलालहरुलाई फकाउन सहजमात्रै भएको छैन, उनीहरुले सजिलै मानव तस्करी पनि गरिरहेका छन् ।

विवाह गर्ने बहाना र काम लगाइ दिने प्रलोभनमा महिला वा युवतीका आफन्तहरु, प्रेमीले नेपाली चेलीबेटीलाई सीमा पार गराइ रहेको माइती नेपाल धनगढीका प्रमुख शिवचरण चौधरीले बताए । उनका अनुसार कोरोना महामारी व्याप्त रहेको गत आर्थिक वर्षमा १०९ जनालाई त्रिनगर भन्सारबाट रोकिएको थियो ।


भारतर्फ जाँदै गरेका ती महिला तथा बालबालिकाई नाकामै रोकेर उनीहरुको उद्धार गरिएको थियो । सोही आर्थिक वर्षमा चार जना महिलाको भारतबाट उद्धार गरिएको माइती नेपाले जनाएको छ ।

यसैगरी, चालू आर्थिक वर्षको हालसम्म भारततर्फ गइरहेका २८ जनालाई रोकेर त्रिनगर भन्सारबाट उनीहरुको उद्धार गरिएको छ । यसअघि, आर्थिक वर्ष २०७६÷७७ मा त्रिनगर भन्सार नाकाबाट छ र भारतबाट एक जनाको उद्धार गरिएको थियो । सोही वर्ष पाँच जनाको नेपालबाटै उद्धार गरिएको छ ।

यस्तै, आर्थिक वर्ष २०७५÷७६ मा भारततर्फ जाँदै गरेका १५७ जनाको त्रिनगर भन्सार नाकाबाट उद्धार गरिएको थियो । यसैगरी, दुई जना महिलाको भारत र छ जना महिला तथा बालबालिकाको नेपालकै होटलबाट उद्धार गरेको माइती नेपालले जनाएको छ ।

यसरी पछिल्लो चार वर्षमा त्रिनगर भन्सार नाका, भारत र नेपालकै होटलबाट गरेर ३१८ जना महिला तथा बालबालिकाको उद्धार गरिएको माइती नेपालले जनाएको छ । पछिल्लो समय दलालहरुले फेसबुक, भाइबर लगायत सामाजिक सञ्जालबाट महिला र किशोरीहरुलाई सम्पर्क गर्ने र फकाई फुलाई भारततिर लैजाने गरेको चौधरीले बताए।

यसैगरी, भारततिर लैजाने ठाउँ पनि परिवर्तन भएको बताइएको छ । गतविगतमा नेपाली चेलीबेटीहरुलाई मुम्बई र दिल्ली लगेर जबरजस्ती यौन व्यवसायमा संलग्न गराउने गरेकोमा अचेल गुजरात, पञ्जाब, बेङ्लोर र राजस्थानतिर बढी लैजाने गरेको माइती नेपालले जनाएको छ ।

‘मुम्बई, दिल्लीतिर पनि लैजानेक्रम त रोकिएको छैन’, चौधरीले भने । ‘तर, पछिल्लो समय अरु ठाउँमा बढी लैजाने गरेको बुझिएको छ ।’ भारतमा बेचबिखन गरिएकाहरुको उद्धारका लागि बर्सेनि सय÷डेढ सय जति निवेदन माइती नेपालमा आउने गरेको छ । जसमध्ये थोरैको मात्रै उद्धार भएको तथ्याङ्कले देखाउँछ । बेचबिखनमा परेका धेरैको ‘लोकेसनसमेत ट्रेस’ गर्न नसक्ने गरेको चौधरीले बताए ।

यसैबीच, नेपालमा चेलीबेटी ओसारपसारको स्वरुपसमेत बद्लिएको छ । विगतमा सीमा पारि ओसारपसार बढी हुने गरेकोमा हाल मुलुकभित्रै चेलीबेटीको ओसारपसार फष्टाउन थालेको माइती नेपालले जनाएको छ ।

गतविगतमा बेचबिखनका लागि नेपाली चेलीबेटीलाई भारततिर लग्नेक्रम बढी थियो । अब यौनजन्य क्रियाकलापका लागि मुलुकभित्रै चेलीबेटीको ओसारपसार हुने गरेको सो कार्यालयका प्रमुख चौधरीले बताए । खासगरेर पहाडी क्षेत्रका किशोरी, महिलालाई विभिन्न ठाउँको होटल, दोहोरी साँझहरुमा लगेर यौनजन्य क्रियाकलापमा संलग्न गराउनेक्रम बढेको चौधरीले बताए ।

माइती नेपालका अनुसार पछिल्लो समय होटलहरुमा यौन व्यापार फष्टाउँदै गएको छ । बेरोजगारी समस्या, आर्थिक अभाव लगायतका कारणले युवतीहरु यौन व्यवसायको दलदलमा सजिलै फँसिरहेको सो संस्थाको जिकिर छ ।

युवतीहरुलाई यौनजन्य क्रियाकलापमा संलग्न गराएर बढी आर्थिक लाभ भने होटलका साहुले लिने गरेको माइती नेपालले जनाएको छ । ‘यौन व्यवसायमा लागेका युवतीहरुलाई धेरै फाइदा हुँदैन । आधाभन्दा बढी पैसा होटलका साहुले लिने गरेका छन्’, चौधरीले भने । ‘तर, पनि यस्तो कार्यमा लागेका युवती यौन व्यवसाय छोड्न चाहँदैनन् । दुई÷तीन महिना काउन्सिलिङ गरेपछिमात्रै सीपमूलक कामका लागि राजी हुने गर्दछन् ।’ उद्धार गरिएका किशोरी, महिलालाई सो संस्थाले सीपमूलक तालिमको व्यवस्था गरेर सिलाईकटाई, व्युटीपार्लर लगायतको कार्यमा अग्रसर गराउने गरेको छ ।

विवाह गर्ने बहाना वा काममा लगाइ दिने भन्दै चेलीबेटीको भारततिर ओसारपसार गरेको पाइएको माइती नेपालले जनाएको छ । यताबाट विवाह गर्ने बहानामा लगेको युवतीहरुलाई उता जबरजस्ती अरुसंग विवाह गराउने, काममा लगाएर दलालहरुले पैसा आफू लिने गरेको बताइएको छ । यसैगरी, परिबन्धमा पारेर अन्ततः यौन व्यवसायमा लाग्न बाध्य पार्ने गरिएको माइती नेपालले जनाएको छ ।

मानव ओसारपसार, बेचबिखन कार्य रोक्नका लागि प्रहरी प्रशासन लगायत विभिन्न संघसंस्था क्रियाशील रहेका छन् । विभिन्न निकायको कैयौं वर्षदेखिको प्रयासका बाबजुद पनि मानव ओसारपसार तथा बेचबिखन कार्यको अन्त्य हुन सकेको छैन । नियन्त्रणका लागि सरोकारवाला निकाय अझ गम्भीरतापूर्वक लाग्नु पर्ने आवश्यक रहेको छ ।
(साभारः पश्चिम टुडे)

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *